अमेरिकामा कोरोना भाइरसबाट अर्को एक व्यक्तिको निधन भएको छ । निधन हुने पश्चिम तटीय राज्य वासिङ्टनका एक ७० वर्षीय पुरूष भएको बताइएको छ। उनको वासिङ्टनको किङ काउन्टीमा शनिबार निधन भएको हो । यसअघि त्यही एकजना ५० वर्षीय पुरूषको निधन भएको थियो ।
अहिलेसम्म ८९ अमेरिकी नागरिक कोरोना भाइरसका शिकार भएको नयाँ तथ्यांक बाहिरिएको छ। तीमध्ये ४४ जना जापानमा, तीनजना चीनमा संक्रमित भएका थिए भने ४२ जना विरामी अमेरिकामै भेटिएका हुन्। अमेरिकामै भेटिएकामा क्यालिफर्निर्यामा १६, वासिङ्टनमा १३, एलिनोयमा ३, फ्लोरिडा,ओरेगन र रोड आयल्याण्डमा २, एरिजोना, मासाचुसेट्स, न्युयोर्क र विस्कन्सिनमा एक-एकजना रहेको बताइएको छ ।
अमेरिकामा योभन्दा धेरै ठूलो संख्यामा कोरोना भाइरसका विरामी भएको हुन सक्ने अनुमान गरिएको छ।
अहिलेसम्म विश्वका विभिन्न देशमा तीनहजारभन्दा बढी मानिसको कोरोना भाइरसबाट मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ८८ हजार नाघेको बताइएको छ।
विश्व स्वास्थ्य संघले संसारभर स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।