१० बैशाख, २०५१। विश्वको सर्वोच्च हिम चुचुरो सगरमाथाको सफल आरोहण गर्दै गोरखा नमरुङका मानबहादुर तामाङ तल झर्दै थिए। उनी अमेरिकी टिमलाई सगरमाथाको सफल आरोहण गराउन गाइडको भूमिकामा खट्टिएका थिए। त्यो दिन हावाहुरी र हिउँ पहिरोले उत्पाद मच्चायो। उनले सुनेका थिए– पासाङ ल्हामु शेर्पा एक दिनअघि सगरमाथाको चुचुरो पुगेर फर्किदैछिन्।
सगरमाथाबाट तल झर्दै गर्दा उनलाई हावाहुरी र हिउँ पहिरोका कारण केही मानवीय क्षति भयो कि भन्ने शंका लागेको थियो। तर, त्यो हिउँ पहिरोमा पासाङ ल्हामु परिन् भनेर उनले विश्वासै गरेका थिएनन्। तर, केही समयपछि खबर आयो– त्यही हिउँ पहिरोमा पासाङ ल्हामुको टिम पर्यो। ५ हजार मिटरको बेस क्याम्पबाट रेस्क्यु टोली आउँदैछ।
यो समाचार सुनेर एकछिन त उनलाई पत्याउन गाह्रो परिरहेको थियो। उनले नेपालको पहिलो महिलाको रूपमा पासाङ ल्हामु सगरमाथा चढ्न गएको खबर सुन्दा दंग परेका थिए। उनलाई खुसी पनि लागेको थियो।
सगरमाथाको चुचुरोबाट तल झर्दै गर्दा रेडियोमा एउटा खबर आयो–‘रेस्क्यु टिम आउदैंछ। सहयोग गरिदिनु होला।’ यसपछि उनी पासाङ ल्हामुको ‘रेस्क्यु’ अभियानमा लागे।
नेपालका बरिष्ठ हिमाली उद्धारकर्ता मानबहादुर अहिले पनि त्यो घटना सम्झँदा चिसो हुन्छन्। उनी नेपाली विभूति पासाङ ल्हामुको लास सगरमाथाबाट निकाल्ने उद्धारकर्ताको रुपमा सबैमाझ परिचित छन्। उनीलगायत बेस क्याम्पबाट आएको टिमले पासाङ ल्हामुको हिउँमा दबिएको लासलाई बाहिर निकालेको थियो।
७० वर्षको उमेरमा हाल उनी सपरिवार गोरखाको नामरुङमा बसोबास गर्छन। वास्तवमा उनको जन्म सोलुको सल्लेरीमा भएको थियो। दुई छोरा र एक छोरीका बुवा मानबहादुर नेपालका अनुभवी हिमाल आरोहीमध्ये एक हुन्। अचेल उनको जीवन गाउँमा घासपात र खेती किसानी गरेर बित्छ।
५० को दशकमा उनीसँग हिमाल आरोहण गर्ने साथीहरू कसैको हिउँमा पुरिएर देहवसान भइसकेको छ भने कोही सुरक्षित भविष्यको खोजीमा सपरिवार अमेरिका र युरोप पलायन भइसकेका छन्।
तर, उनी गाउँमा सामान्य जीवन व्यतित गरिरहेका छन्। ९० को दशकमा पाँच पल्ट सगरमाथाको सफल आरोहण गरिसकेका मानबहादुरलाई बुढ्यौली उमेरमा पनि हिमाल चढ्ने धोको मरेकाे छैन। उनले २०११ सम्म गाइडको काम गरेका थिए।
सन् १९८८ मा अष्ट्रियामा ‘रेस्क्यु’ सम्बन्धि तीन महिने तालिम लिएका उनी हालका गाइडलाई मौसम र लोकेशन सम्बन्धि ज्ञानको अभाव रहेको बताउँछन्। ‘हिजोआज नक्सा हेरेर विदेशी हिडाउने गर्छन। यसो गर्दा पर्यटकसहित गाइडको पनि जीवन जोखिममा हुन्छ,’ यसै साता गोरखाको नमरुङमा भेटिएका मानबहादुरले भने, ‘गाइडले कुन स्थानको मौसम कस्तो छ र भौगोलिक अवस्थाको विषयमा पूर्ण जानकारी राख्नु जरुरी छ, हिमालको मौसम यसै त मिनेट मिनेटमा परिवर्तन भइरहन्छ।’
सोलुमा सामान्य परिवारमा जन्मिएका मानबहादुरको परिवारलाई खानकै दुःख थियो। सगरमाथा आरोहणका लागि आउने विदेशीसँग जाने शेर्पा गाइडको भरिया र खाना पकाउने काम गर्दा गर्दै उनी गाइड बन्न पुगेका थिए। पछि उनले हिमाल चढ्ने तालिम पनि लिए। अहिले थुप्रै गाइडका प्रशिक्षक भइसकेका छन्।
‘मैले जीवनमा सबै काम गरे। गरिबी पनि देखे। विश्वको सर्वोच्च हिमाल पनि चढे। अहिले खुसी छु,’ बिएल नेपाली सेवासँग उनले भने–‘तर, मेरो अन्तिम इच्छा मोनास्लु हिमाल चढ्ने छ।’
३० वर्षअघि उनी मनास्लु चढ्न जाँदा प्रतिकूल मौसमका कारण बीच बाटोबाटै फर्किनु पर्यो। २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रज्ञा भवन कमलादीमा उनलाई सम्मान गरेका थिए। त्यो क्षण अहिले पनि उनको मानसपटलमा ताजै छ।