गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
उनीसहितका व्यक्तिले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदारलाई हातहतियार देखाइ ज्यान मार्ने, हातखुट्टा भाँचिदिने धम्की दिएर त्रास फैलाएको र महिलालाई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
खोजीका क्रममा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई काठमाडौंको जडीबुटीबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। यसअघि तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको र सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।
तामाङलाई अभद्र व्यबहार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।