ललितपुरको लेलेमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि

ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न एसुर्खेतको लेकफर्साका गिरबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ।

अपराधलगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

यसअघि ४ असोजमा नग्न अवस्थामा अन्दाजी ४० वर्षीय खगेश्वरा दमाईको शव भेटिएको थियो। प्रारम्भमा शवको सनाखत हुन नसकेपछि गाउँमा सोधपुछ गर्ने क्रममा दुवै जनासँगै २१ माघमा काम खोज्दै स्थानीय एक कृषि फर्ममा पुगेको खुलेको थियो।

फार्मकै अधिकारीले शवको सनाखत गरेका थिए। उनीहरु पतिपत्नी भएको जनाइएको छ। यद्यपि, हत्या कसरी भयो भन्ने खुलिसकेको छैन। ‘हालसम्म हत्याको कारणबारे खुल्न सकेको छैन,’ राईले भने, ‘सुर्खेतमा पक्राउ गरेर ललितपुरतिर ल्याएपछि घटनाबारे थप जानकारी दिन्छौं।’

हाल मृतकको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ।
 

प्रकाशित मिति: : 2020-02-20 02:06:38

प्रतिकृया दिनुहोस्