वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित ऐतिहासिक शिव मन्दिर परिसरमा ५१ फिट अग्लो ‘अर्धनारीश्वर’को मूर्ति स्थापना हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधाआधा शरीर जोडिएर बनेको मूर्ति नेपालमै पहिलोपटक स्थापना गर्न लागेको हो ।
प्राप्त शिलालेखअनुसार शाके संवत् १५०४ मा शिव मन्दिर स्थापना भएको उल्लेख छ । व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले मूर्ति स्थापनाका लागि रु २६ लाख खर्च हुने र यसले लाटीकोइली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए।
मन्दिर व्यवस्थापनका लागि गत साउनमा लगाइएको शिवपुराण महायज्ञबाट सङ्कलित रु एक करोड सात लाख २९ हजार ९०० आम्दानीबाट मूर्ति स्थापना गर्न लागिएको हो । उक्त बजेटमध्ये रु ८० लाख बैंक बचत गर्नुका साथै बाँकी रकम मूर्ति स्थापनामा खर्च गरिने मन्दिर व्यवस्थापन समितिको तयारी छ ।