तुलसीपुरमा पर्यटक बढाउन ‘चितुवा’

दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले भ्रमण वर्ष २०२० लाई सफल पार्न सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ।

पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको हो। गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए।

उनका अनुसार करिब एक वर्ष अघिदेखि पार्कको लागि चितुवा सहयोग गरिदिन माग गरिएको थियो। ‘हामीले लामो प्रयासपछि पार्कमा चितुवा ल्याएका छौँ‘, उनले भने, ‘यसले यहाँ पर्यटकको ध्यान केन्द्रित गरेको छ।

’ पाँच वर्षको ४० किलो तौल भएको चितुवा ल्याइएको उनको भनाई छ। माघ २६ गते ल्याइएको उक्त चितुवा हेर्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्न थालेको अध्यक्ष भण्डारीले बताए।

चितुवा ल्याएपछि हेरचाह गर्नका लागि दक्ष व्यक्ति नभएको बताउँदै उनले भने, ‘हामीले चितुवा त ल्यायौँ तर हेर्न सक्ने दक्ष व्यक्ति नहुँदा समस्या भएको छ।’

समस्या समाधानका लागि तयार रहेको अध्यक्ष भण्डारीको भनाई छ। अबको केही समयमा बाघ, अजिङ्गर, निलगाइ, भालु, जरायो, मयूरलगायतका जनावर ल्याउने गरी प्रक्रियाअघि बढाएको बताउँदै उनले भने, ‘त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ।’

अहिले पार्कमा घाइते तथा अलपत्र जङ्गली जनावरलाई उपचार तथा संरक्षण गरिएको उनको भनाइ छ। उद्यानमा हाल २० वटा खरायो, पाँच वटा गिनिपिक (मुसा खरायो), दुई वटा राजहाँस, दुई वटा टर्की, एउटा कछुवा,  दुईवटा हुईचिल, एउटा चिल, एउटा दुम्सी, दुईवटा बाँदर र एउटा चित्तल रहेका छन्। यी जनावर तथा पंक्षी ल्याएसँगै दैनिक अवलोकन गर्नेको सङ्ख्या बढेको छ।

प्रकाशित मिति: : 2020-02-19 04:04:28

प्रतिकृया दिनुहोस्