नीति पूर्वीय सनातन परम्परामा बहुधा प्रचलित शब्द हो। शुक्रनीति, विदुरनीति, चाणक्य नीति र भर्तृहरि आदि नीतिका उदाहरण रहेका छन्। यस्तै अनेक नीतिश्लोक र नीतिकथाहरू पनि रहेको पाइन्छ। ‘नयनात् नीति रुच्यते’ अर्थात् खराबबाट असल मार्गतर्फ अग्रसर हुन अभिप्रेरित गर्नु नीति हो। संस्कृतमा नीति भनेको निर्देशन, दिग्दर्शन, व्यवहार, आचरण, चालचलन, कार्यक्रम आदि हुने बताइएको छ। साथै नीतिको सम्बन्ध नैतिकता (मोरल) सँग पनि हुन्छ। (संस्कृत हिन्दी शब्दकोश वामन शिवराम आप्टे)
चाणक्य नीतिका सुरुका श्लोक हेर्दा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने सबैका भलाइका कुरा नीति हुन्। नीतिशास्त्रहरूको सार हेर्दा मानिस, समाज र राष्ट्रको जीवन र तिनीहरूका सम्बन्धसँग सम्बन्धित गर्न हुने र गर्न नहुने भनी विषय खुलाइएका ज्ञान र भलाइका कुरा नै नीति हुन् भन्ने देखिन्छ।