सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दा वृहत पूर्ण इजलासमा पठाएको छ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले दायर गरेको दुई अलग अलग रिटलाई एकै पटक सुनुवाई गर्न पूर्ण इजलासमा पठाएको हो।
दुईवटै रिटमा आइतबार सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलासले उक्त मुद्दा वृहत पूर्ण इजलास पठाउने निर्णय गरेको हो। उक्त मुद्दा अव माघ ७ गते पाँच जनाभन्दा धेरै न्यायाधीशले हेर्नेछन्।
निजगढमा वन क्षेत्र मासेर विमानस्थल बनाउँदा धेरै रुख काट्नुपर्ने, त्यसले जैविक विविधता, वन्यजन्तुको बासस्थान मासिने लगायतको कारण देखाउँदै उक्त विमानस्थल निर्माणको काम रोक्न माग गर्दैै सर्वोच्चमा रिट दायर भएको थियो।
संरक्षण अभियन्ताहरुले निजगढको सट्टा वैकल्पिक ठाउँ खोजेर विमानस्थल बनाउनुपर्ने माग गर्दै आएका छन् भने सरकारले काठमाडौंको विमानस्थललको चाप घटाउन निजगढ विमानस्थलको विकल्प नभएको बताउँदै आएको छ।
गत मंसिर २० गते सर्वोच्चले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको थियो।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले काम अघि नबढाउन आदेश दिएको थियो।
यस्तै पुस ६ गते सर्वोच्चले निजगढ विमानस्थलको काम तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो।