चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको छ।
बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबैलाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो।
उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्याएका हुन्।
आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ।
फर्कनेमा धेरैजसो चीनका विभिन्न भागमा अध्ययरत नेपाली विद्यार्थी रहेको बताइएको छ। यसैगरी एकजना कामदार भिसामा रहेका नेपाली र सातजना चीन घुम्न गएका पर्यटक रहेको जनाइएको छ।
कोरोना भाइरसका कारण ज्यान जोखिममा रहेका नेपालीको उद्धारका लागि सरकारले उनीहरूलाई नि:शुल्क एयरलिफ्ट गरेको हो।
चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको छ।
उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका छन्। नेपाल आइपुगेका एक सय ७५ जनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर केही समस्या नदेखिएका व्यक्तिलाई मात्र भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा लगिएको सरकारले जनाएको छ।
अब नेपाल ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा १४ दिन डाक्टरको निगरानीमा राखिनेछ।
यसैबीच सरकारले चीनलाई एक हजार वटा मास्क हस्तान्तरण गरेको छ। नेपाली लिन गएको विमानमा सरकारले पठाएको एक हजार मास्क हुबेई च्यारिटी फेडेरेशनलाई हस्तान्तरण गरेको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ।