सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन्।
नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा बुधबार आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने स्पष्ट गरेका हुन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सङ्केत गर्दै उनले भने, ‘एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ।’
विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उहाँले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे।
अध्यक्ष दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठेर जनताको मनोभावनालाई आत्मसात् गर्र्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे
तत्कालीन एमाले र माओवादी जनयुद्धका शुरुआती वर्षमा तीखो सङ्घर्षमा रहे पनि पछिल्ला समयमा कम्युनिष्ट शक्तिबीचको सहकार्यलाई जोड दिने माओवादीको निर्णयकै पृष्ठभूमिमा हाल नेकपाको एकता भएको उल्लेख गर्दै उनले विसं २०२९ को झापा विद्रोह (सुखानीका शहीद) र जनयुद्धका शहीदसम्मलाई जोडेर नेतृत्वले सही विचार र सोचका साथ मुलुकलाई सही गन्तव्यमा पु¥याउने दृढता पनि व्यक्त गरे।