सिन्धुपाल्चोकमा भेटिएकाे शंकास्पद रोग मौसमी फ्लु हाे, काेराेना हाेइन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा फैलिएको संक्रमण मौसमी फ्लु भएको जनाएको छ।

गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा सोमबारदेखि ज्वरोको बिरामी भेटिएको र उनीहरुमा सामान्य रुघाखोकी तथा ज्वरोको समस्या रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। 

‘हुम्ला र बाजुरामा देखिएको जस्तै रुघाखोकी, सामान्य ज्वरो र बान्ता हुने लक्षणहरु देखिएहो। स्वास्थ्यटोली पठाएर संक्रमण नियन्त्रणमा आइसक्यो’, श्रेष्ठले भने।

गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा सोमबारदेखि ज्वरोको बिरामी भेटिएको र यो संख्यका एक सय नाघिसकेको छ। तर उनले भने ‘अहिलेसम्म संक्रमण देखिएको तर गम्भीर तथा अस्पताल राख्नुपर्ने अनि ज्यानै जानेगरी भयावह अवस्था आएको छैन।’

प्रवक्ता श्रेष्ठका अनुसार हिमाली जिल्लाहरुमा सधैजसो हुने संक्रमण रुघाखोकी, ज्वरो बढी फैलिएको छ। जुगल गाउँपालिकाले कोरोनासँग मिल्दोजुल्दो भनेर गलत जानकारी दिँदा समस्या भएको तर यो मौसमी फ्लु नै रहेको उनले दाबी गरे। 

‘अहिले देशैभर रुघाखोकीको प्रकोप छ, मुख्यगरी उच्च हिमाली जिल्लामा बढी समस्या छ,‘ उनले भने, ‘ रुघाखोकीका बिरामी धेरै छन् तर आत्तिनुपर्ने अवस्था छैन।’

मौसमी फ्लु प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको टोली खटाएर आवश्यक उपचार थालेको पनि मन्त्रालयले जनाएको छ।

यता गाउँपालिकाले बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको। गाउँपालिकामा डाक्टर नभएकाले बिरामीको स्वास्थ्य परीक्षण गर्न छिमेकी गाउँपालिका जलबिरे स्वास्थ्य इकाइका डाक्टर पिताम्बर खनाललाई लगिएको छ।

बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। 

यता वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले  रुघाखोकी र ज्वरोको बारेमा स्वास्थ्यकर्मीले अनुसन्धान र नमूना संकलन गरिरहेकाले धैर्यता अपनाउन आग्रह गरेका छन्। वाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाको टोलीले प्रभावित क्षेत्रबाट परीक्षणका लागि नमूना संकलन गरी ल्याउने पनि जानकारी उनले दिए।

प्रभावित क्षेत्रमा खटिएको टोलीका अनुसार मौसमी रुघा भएको तर कोरोना भाइरसको लक्षण नदेखिएकोसमेत मन्त्री दुलालले जानकारी दिए।

याे पनि

सिन्धुपाल्चोकमा भेटियाे कोरोना जस्तै शंकास्पद रोग, एकसय भन्दा बढि बिरामी

सिन्धुपाल्चोकमा कोरोना भाइरससँग मिल्ने शंकास्पद रोग, औषधि र माक्स पठाइयाे

प्रकाशित मिति: : 2020-02-13 08:04:45

प्रतिकृया दिनुहोस्