मोरङमा नागरिकताको नाम सच्याइदिने भन्दै ६ लाख रकम घुस लिने एक बिचौलिया पक्राउ परेका छन्। बेलबारी नगरपालिका २ को वडा कार्यालय परिषरमा लेखापढीको काम गर्ने बिचौलिया तिर्थ गिरी पक्राउ परेका हुन्।
भारतीय सेनामा कार्यरत बेलबारी २ कै बमबहादुर लिम्बुको नागरिकताको नाम सच्याईदिए वापत विभिन्न ठाउँमा रकम बुझाउनुपर्ने भन्दै गिरीले सो रकम लिएका थिए। गिरीलाई आइतबार इलाका प्रहरी कार्यालय बेलबारीले प्रमाण सहित नियन्त्रणमा लिएको हो।
नागरिकतामा बमबहादुर नाम भएका लिम्बूको भारतिय सेनामा पदमबहादुरको नामबाट जागिर खाएका थिए। तर, पेन्सन लिनका लागि नागरिकतामा पनि एउटै नाम पदमबहादुर नै बनाउनुपर्ने भएपछि लिम्बुले गिरीलाई भेटेका थिए।
गिरीले लिम्बूले भने अनुसार नै नाम सच्याएर नागरिकता निकालिदिएका थिए। लिम्बुले गत पुष २८ गते गिरीलाई लालभित्तिस्थित एक होटलमा पैसा बुझाएका थिए। ‘गिरीले सुरुमा कागजहरु हेरेपछि १ लाख रुपैयाँमात्रै मागेका थिए। पछि सिडिओ कार्यालयमा समेत रकम बुझाउनुपर्ने भयो भन्दै गिरीले जम्मा ६ लाख रुपैयाँ लाग्ने बताएका थिए। यो सम्बन्धि ज्ञान नभएर र खर्च लाग्ने नै होला भन्ने लागेर काम हुने भएपछि मैले जम्मा ६ लाख रुपैयाँ बुझाए।’ लिम्बूले भने।
बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमले सर्जिमिन लगायत सामान्य प्रकृयाहरु पुरा गरेर नागरिकता सच्याए पनि सो बापत रकम लिएपछि मात्रै थाहा पाएको बताए। लिम्बुकै छिमेकी मार्फत आफूले यसबारे जानकारी पाएको गौतमले बताए। ‘रकम लिएको सुनेपछि दुवैपक्षसँग कुरा गरे,’ उनले भने,‘गिरीले रकम लिएको स्वीकारेका छन।’ गिरीले जिल्ला प्रसासन कार्यालय मोरङका टेकबहादुर श्रेष्ठ नाम गरेका कर्मचारी र विराटनगरकै अर्का एक व्यक्ति पनि यसमा संलग्न रहेको बताएको गौतमले जानकारी दिए।
रकम लिएको खुलासा भएपछि गिरीले आइतबार नै रकम फिर्ता गर्ने भन्दै तत्काललाई ५ लाख रुपैयाँको चेक काटिदिएका थिए। उनको चेकमार्फत साटिएको ५ लाख रुपैयाँ रकम इलाका प्रहरी कार्यालय बेलबारीले बरामदी मुचुल्का तयार गरेर नियन्त्रणमा लिएको छ। गिरीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा राखेको छ।
यसरी नागरिकतामा नाम सच्याउने कार्य वडा कार्यालयबाट सहज र सामान्य प्रकृया अनुसार अघि बढेको भएपनि सामान्य कामका लागि त्यति ठुलो परिमाणको रकम माग गर्ने हिम्मत गिरी एक्लैले गरे वा यसमा अन्य पक्ष र पदिय जिम्मेवारीमा रहेकाहरुको पनि हात छ भन्ने खुलेको छैन। गिरी विरुद्ध अख्तियारमा मुद्दा अघि बढाइने इप्रका बेलबारीका प्रमुख गुणराज बुढाथोकीले जानकारी दिए।
स्मरण रहोस् करिब डेढ बर्षअघि वडा कार्यालयमा बिचौलियाले सेवाग्राहीबाट मनपरी पैसा असुलेको समाचार प्रकाशित भएपछि वडा कार्यालयले सेवाग्राहीबाट लिन पाउने शुल्क निर्धारण गरेको थियो