आजकाल मेरा मनका सीमाहरू दिन प्रतिदिन तोडिएका छन्। जब पुर्खाको देश नेपालले नेपाली भएर बाँच्न सम्झना दिलायो, त्यो क्षण नै अहिलेसम्मको यादगर रह्यो।
नेपाल मेरा लागि इतिहास जान्ने रूचि मात्रै नभएर, जीवनको महत्वपूर्ण पुस्तक नै बनेको छ। यो पुस्तकका हरेक पाना–पानाहरु पढ्दा, पितृभूमिको गौरवता जान्ने आभास भयो।
उमेर र शिक्षासँगै मानिसमा अनेक चाहानाहरूको विकास हुँदोरहेछ। समाज फराकिलोरहेछ। जसलाई जुन कुरा जान्न पनि रोकतोक नहुने। म्यानमारमा बसोबास गर्ने गोर्खाली अर्थात् नेपाली जातिहरू पनि आ–आफ्नो पेशा, व्यवसायको यात्रामा संघर्षरत छौं।
मलाई नेपालको मायाले घोचिरहेको छ। नेपाल पुग्ने रहर बाल्यकालदेखि कै हो। जब म रंगुन पुगेकी थिएँ। त्यहाँ त मैले कुनै दिन नेपाल नै भेटाएँ। रंगुनमा भेटिएको नेपालले मेरा मनका भावनाहरु शब्द–शब्द बन्न थालेका हुन्। नेपाल भेटेँ भन्नुको अर्थ, जब दिपक भट्टराई अंकलको (म्यानमारमा कार्यरत नेपाली पत्रकार) परिवारसँग मेरो चिना, परिचय भयो। उहाँहरुसँगको संगतपछि त एकान्तमा नेपालको बारेमा सोच्न र फिल्म खोजी–खोजी हेर्न नै परेन।
दिपक अंकल र माया आन्टी नेपालबाट म्यानमार आउँदा, केही न केही उपहार पाउँथे। उहाँहरूले ल्याइदिएका छुर्पी चपाउँदै, मनमा अनेकन रहरहरु सोच्न भ्याएछु। उहाँहरुसँग मेरो भेट म्यानमारको पुरानो राजधानी रंगुनमा भयो। संयोगले उहाँको परिवारसँग भेट्ने र नजिकिने सौभाग्य पाए। अंकल, आन्टी र बहिनीसँगको बसाइले, नेपाली भाषा र संस्कृति जान्ने कुरामा शक्ति पाएको महसुस गरेँ। सुरू–सुरूमा नेपालीहरु बोलेको सुन्दा दंग पर्ने म, अहिले कता–कता सुध्रार्ने प्रयासमा छु।
अहिले टाउँजीमा छु। मैले रंगुन छाडेको लगभग महीना दिन पुगेछ। अंकलसँग भेट नभएको पनि उतिनै भयो। कुनै साँझ माया आन्टी रंगुनबाट मेरो गाउँ आउने खबर सुनाउँदा खुब रमाए। आन्टी मात्रै होइन, नेपालबाट हजुरबा, हजुरआमा, बहिनी र सानो बाबु आउँदा पनि म निकै खुसी बने। यो पटक दिपक अंकल आउनुभएन। नरमाइलो लाग्यो। तर, अंलल काममा हुनुहुन्थ्यो। चित्त बुझाउँनै पर्यो।
नेपाली कसरी लेख्ने? (शरदचनद्र वस्तीको पुस्तक), यो अंकलले पठाइदिएको चिनो हो। फुर्सदको मौकामा पढ्ने कोशिस गरिरहेकी हुन्छु। पढ्दै जाँदा, पुस्तकमा सबैले जान्ने र सजिला शब्दहरु राखिएको जस्तो लागे पनि थुप्रै नयाँ शब्दहरू पाए। म्यानमारमा केही हदसम्म मेरो पुस्ताले पनि नेपाली भाषा, साहित्य र संस्कृति जोगाउने प्रयास गरिरहेका छौं। पुस्तक पढ्दा, यस्तो लाग्छ कि, अंकल पनि साथमै हुनुहुन्छ। उहाँले रंगुन र गाउँतिर डुल्दा बोलेको, त्यो आवाज सुनिन्छ। कति प्रिय छन्, नेपाली शब्द। कति आत्मीय छ, मेरो मातृ भाषा।
नेपालमा बोलिने र म्यानमारमा बोलिने नेपाली भाषामा शब्दका अर्थहरु अलि–अलि फरक छन्। जस्तै, म्यानमारमा मिठाइ बनाउने ठाउँलाई भट्टी भन्छौ, नेपालमा रक्सी बनाउनेलाई भनिन्छ। यस्ता शब्दहरु सुन्दा हजुरबालाई रमाइलो पनि लाग्यो। हजुरबासँगै टाउँजीका धेरै ठाउँहरु पुग्दा रमाइलो भयो।
हजुरबा, हजुरआमालाई म्यानमार रमाइलो लाग्यो। उहाँलाई मेरो देशका कतिपय गाउँ–ठाउँ र नेपालमा फरक नै लागेन। जहाँ पुग्दा पनि नेपाली भाषा, आँगनमा तुल्सीका बोट, जता पनि मन्दिर, नेपाल भन्दा फरक लागोस् पनि कसरी? मेरो नेपालीभाषा सुनेर हजुरबा लोभिनुभयो। बेला–बेला भन्नुहुन्थ्यो। रितुले कसरी सिकेको नेपाली भाषा? कति राम्रो बोल्न जानेको। उहाँले भनेको सुन्दा खुसी नै लाग्थ्यो। दुई दिनको पाहुना बनेर, कति धेरै शिक्षा सिकाएर उहाँहरु फर्किदा कता–कता मन त दुख्यो नै, तर पनि उहाँहरु आफ्नो गन्तब्यमा जानैपर्ने थियो। र मेरो देश घुमेर नेपाल पनि पुग्नुभयो।
‘मेचिना, मोगोक, टाउँजी नेपाल हो। दोस्रो नेपाल हो।’ श्रीकृष्ण लुइटेल उर्फ बोके दारीले, म्यानमारका नेपाली भाषीहरूको भाव समेटेर बनाएको गीत हो, यो। बोके दारीलाई म्यानमारका सबै नेपाली भाषीहरुले जानेका छौं। उहाँ बेला–बेला यहाँ पनि आउनुहुन्छ। बोके दारीको यो गीत सुनेपछि, लाग्थ्यो नेपाल यस्तै रहेछ।
म्यानमार टाढा छ। नेपाल छाडेर उता गएको पनि वर्षौं भयो। पछिल्लो पुस्ताहरुले नेपाल नै बिर्से होलान्? त्यति पर.. पुगेकाहरु पुख्यौली देशको जान्दैनन् नि? कतिपय यसो पनि सोच्नुहुन्छ होला। त्यसो होइन नि। हामीलाई पनि पुर्खा जन्मेको, हुर्केको गाउँ–ठाउँको माया लाग्छ। म्यानमारमा जन्मे, हुर्केका गोर्खालीहरुलाई नेपाल पुग्ने र पुर्खाको माटोमा रमाउने त रहर हुन्छ। कहाँ बिर्सन सक्छौं र प्यारो पुर्खाको देश नेपाल।
जय बर्मा, जय गोर्खा, जय नेपाल