ब्रिटिस एयरवेजले चीनसँगको सीधा हवाइ उडान बन्द गर्‍यो

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायतको ब्रिटिस एयरवेजले चीनसँगको सीधा हवाइ उडान बन्द गरेको छ। कोरोना भाइरस संक्रमण बढ्ने खतराका रहेको कारण उसले हवाइ उडान बन्द गरेको हो।  

बेलायती विदेश मन्त्रालयले जरुरी कामबाहेक चीन भ्रमण नगर्न सचेत गराएपछि ब्रिटिस एयरवेजले पनि फ्लाइट बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा १ सय ३२ जनाको मृत्यु भइसकेको छ  भने ९ हजार भन्दा बढी संक्रमित भएका छन्। चिनियाँ संचार माध्यमका अनुसार यो भाइरसको संक्रमण १६ जिल्लामा पुगिसकेको छ ।

अमेरिका,जापान,कोरीया,क्यानडा लगायतका देशले वुवान प्रान्तमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् । त्यहाँ करिब ३ सय जना बेलायती रहेको अनुमान छ । अष्ट्रेलियाले चीनबाट दुई हप्तायता फर्किएका आफ्ना ६ सय जना नागरिकको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।

यस्तै वुहान प्रान्तमा रहेका नेपालीहरुले पनि उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।  वुहानमा रहेका नेपालीहरूले आफूलाई उद्धार गरेर स्वदेश फिर्ता लान आग्रह गरेका हुन्। 

चीनमा अहिले ७,००० को आसपास नेपाली नागरिक रहेको नेपाली दूतावास बेइजिङको भनाइ छ।

तीमध्ये भाइरस प्रभावित हुबेको वुहान वरपर करिब १०० नेपाली रहेका छन्।

सङ्क्रमण फैलिएपछि केही दिनअघि वुहानमा मृत्यु भएका एक नेपालीको शव समेत नेपाल फिर्ता ल्याउन नसकिएको दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले बताए।
 

प्रकाशित मिति: : 2020-01-30 03:52:06

प्रतिकृया दिनुहोस्