त्रिकोणात्मक सिरिजको लागि नेपाली टाेलीको घोषणा, सोमपाल र वसन्त अटाएनन्

बिएल संवाददाता

काठमाडाै‌ं

आईसीसी विश्वकप क्रिकेट-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा हुने सिरिजको लागि मुख्य प्रशिक्षक उमेश पटवाल र राखेपका प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको हो।

यसपटक अनुभवी खेलाडी सोमपाल कामी र वसन्त रेग्मीलाई विश्राम दिइएको छ। नेपाली टिमको नियमित सदस्य रहेका सोमपाल कामीले पूर्ण फिट नहुँदा सिरिज गुमाउने भएका हुन्। यस्तै वसन्त रेग्मी पारिवारिक कारण क्याम्पमा पनि सहभागी भएका थिएनन् । स्पिनर वसन्तलाई केही दिनअत्रि पुत्रीलाभ भएकाले उनले प्रशिक्षण गुमाएका थिए।

कामीको स्थानमा युवा फास्ट बलर कमल सिंह ऐरीलाई मौका दिइएको छ। यता वसन्तको स्थानमा कुशल मल्लल पहिलो पटक एकदिवसीय राष्ट्रिय टिममा स्थान बनाएका छन्।

सिरिजमा लागि पोखरामा भएको क्याम्पमा पहिलो चरणमा २४ खेलाडी बोलाइएको थियो। एक साताको क्याम्प र मलेसियासँग ३ खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाली टोली छनोट भएको हो।

नेपालमा सिरिज खेल्ने अमेरिका र ओमाननले यसअघि नै टोली घोषणा गरिसकेको छ। तीन राष्ट्र सम्मिलित सिरिज यही माघ २२–२९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दीप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुशन भारी
रोहितकुमार पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी

प्रकाशित मिति: : 2020-01-25 00:36:30

प्रतिकृया दिनुहोस्