पीएसजी फ्रेन्च लिग कपको फाइनलमा

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको फाइनलमा पुगेको छ। 

बुधबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको रिम्सलाई ३–० ले पराजित गर्दै फाइनलमा पुगेको हो। पीएसजीको जितमा मार्कुन्योस र नियानजोउ कोवासीले गोल गर्दा एक गोल उपहार पाएको थियो। 

नवौं मिनेटमा नै कप्तान मार्कुन्योसले गोल गर्दै पीएसजीले खेलमा अग्रता लिएको थियो। उनले नेयमारको पासमा हेडमार्फत गोल गरेका थिए।

३१औं मिनेटमा रिम्सका कोनानले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–० को अग्रता लियो। 

७३औं मिनेटमा रिम्स १० खेलाडीमा समेटियो। मार्को भेराटीलाई फल गरेपछि रेफ्रीले रिम्सका मार्सल मुनेटसीलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो। 

त्यसपछि ७७औं मिनेटमा नियानजोउ कोवासीले भली सटमा गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाउदै फाइनलमा पुर्‍याउन सफल भयो।

अब पीएसजीले उपाधिका लागि लियोनसँग ४ अप्रिलमा खेल्नेछ। लियोनले बुधबार राति नै लिललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

निर्धारित समयमा लियोनका मौसा डेम्वेले र औअरले गोल गरे। लिलका रेनाटो सान्चेज र रेमीले गोल गरे।
 

प्रकाशित मिति: : 2020-01-23 20:36:20

प्रतिकृया दिनुहोस्