जब नेपाल मुटुमा राखेँ

रितु थापा

म्यानमार

मेरा मनका भावनाहरु पोखिँदा छरिएका शब्दहरू जोड्दा लेख बनेछ। सोचेको पनि थिइनँ, नेपालले मलाई यति धेरै माया र सद्भाव दिन्छ भनेर। अहिले कता–कता सपना जस्तो पनि लाग्छ। तर, यर्थाथ रहेछ।

साँच्चिकै म भाग्यमानी रहेछु। वर्षौंअघि मेरा पुर्खाले छाडेको त्यो पुर्ख्यौली प्यारो नेपालले मलाई मुटुभरी माया दियो। म नेपाली माया सम्हाल्न पट्क्कै भारी मान्दिनँ। झन् खुशी साथ रमाइ रमाइ बाँच्नेछु।

पितृभूमिको आशिर्वाद र मायासँगै। मेरा भावनाहरू पढेर, कतिपयले सन्देश पनि दिनुभयो। बधाई त कति हो, कति। अग्रजले पठाउनुभएका शुभकामनाका शब्दहरु मैले फोटोकपी गरेर राखेकी छु।

यी सबै सामाजिक सञ्जालबाट पाएँ। फुर्सदमा, बेला बेला खोलेर हेर्दा र खुशी लाग्छ। अब यी मेरा लागि अमूल्य सम्पत्ति हुन्। जसले जीवनभर खुसी दिनेछ। यीनको तुलनामा धनमाल, गर गहना, श्रीसम्पत्ति केही होइनन्।

‘नेपाल टेक्ने रहरले सीमा नाघेको छ’ जब मैले बिएल नेपाली सेवाका लागि लेखेका भावनाहरू, कथा बने। यी वाक्यहरू मेरा मात्रै होइनन्। जन्मभूमि म्यान्मारमा हुर्किरहेका, मेरै उमेर समूहका युवाका भावनासमेत हुन्। त्यसैले यी हाम्रा हुन्। हामीहरूका हुन्।

हामी नेपालभन्दा टाढा बसे पनि पनि नेपाली संस्कार र संस्कृतिमा नै बाँचिरहेका छौं। हामीलाई यसैमा गर्व छ। हाम्रो गर्वलाग्दो संस्कार र संस्कृतिले जन्मभूमि म्यानमारको संस्कृतिमा विविधता थपेको छ।

नेपाल पुग्ने र डुल्ने म जस्ता थुप्रैको सपना छ। पछिल्लो पुस्ता, अझै नेपालका बारेमा जानकार छौं। सायद, सामाजिक सञ्जालको प्रयोगले गर्दा पनि होला। सामाजिक सञ्जाल हाम्रा लागि समाजिक सम्बन्ध कायम गर्ने माध्यम बनिदिएको छ।

अघिल्लो लेखमा बाल्यकालको अनुभूति लेख्ने प्रयास गरेँ, कतिपयः विगतका तिता मिठा अनुभवहरू शब्दमा उर्तान छुटाएँ पनि। नेपालमा बस्ने कतिपय युवा पुस्ताका लागि नयाँ जस्तो महसुस पनि गरेँ। प्राप्त सन्देशहरुमा, किन गएको म्यानमार? कहिले गएको हो? पढ्न गएको हो? त्यहाँ पुगेको कति वर्ष भयो? कहिले आउने नेपाल? मैले जवाफ दिए, ‘म्यानमार हाम्रो जन्मभूमि हो। हामी यहाँकै नागरिक हौं। नेपाली अर्थात् गोर्खा हाम्रो जाति भएको बताएँ।’ यसपछि, दाजु–भाइ, दिदीबहिनीले आँखा रसाएको पनि सुनाउनुभयो।

यस्तो अवस्थामा मैले के सुनाउनु। म मसँग जवाफ फर्काउनलाई शब्दहरु भएनन्। म पनि उहाँहरु जस्तै बनिदिन्छु। मेरा आँखा पनि उसैगरी रसाए। भावना एउटै बनिदिन्छ। उहाँहरूको मलाई जवाफ थियो। हामी जहाँ पुगे पनि नेपाली हौं। हामीबीच रगतको नाता छ। हामी जहाँ बस्छौं, रमाउँदै बस्छौं। जे कुरा मैले बच्पनदेखि सोचिरहेकी हुन्थेँ, नेपालबाट पनि उस्तै भावना पाएँ। नेपालमा पनि केही वर्षदेखि अन्य मुलुकहरुमा खुसी साथ जीवन जिउन र पढ्न जाने संख्या निकै नै रहेछ। विकसित देशमा पुगेपछि युवाहरु गाउँ–ठाउँमा फर्कनै छाडे। केही दाइले यसो पनि सुनाउनु भयो।

मेरो मन च्वास्स भयो। मेरो पुर्खा पनि यस्तै मनसाय बनाएर म्यानमार आउनुभयो होला। तर, आज पनि त्यो क्रम उस्तै रहेछ, मैले सोचेँ। हुनत, यस्तो चलन म्यानमारमा नभएको पनि होइन।

मेरो नेपाली इतिहास जान्ने रूचिप्रति आमा, बुबा खुसी हुनुहुन्छ। जब म घरमा पुग्दा मेरो बुबाको पुस्तकालय देख्छु, त्यहाँ सबैभन्दा धेरै नेपाली भाषामा लेखिएका पुस्तकहरु छन्। उहाँ पुस्तक पढ्न खुब् रूचाउनु हुन्छ। दराजको नजिकै नेपालका तत्कालिन राजा महेन्द्रको फोटो पनि राखिएको छ। मेरो हजुरबाले आफूहरू राजा महेन्द्रका जनता भएको बताउनुहुन्थ्यो रे।

पक्कै पनि बुबाको मनमा, यो कुराले छोएको हुनुपर्छ। बुबाको फेसबुकमा पनि राजा महेन्द्र परिवारको फोटो देख्दा, मलाई इतिहासप्रति धेरै कुरा जान्ने रहरहरु जाग्छन्। अझ् भनौं, नेपालमा त राजतन्त्र छैन रे। राजा–रानीका फोटोहरु पनि कोठाका भित्ता–भित्तामा भेटिदैनन् रे। हामीसँग त अझै पनि राजा–रानी हुनुहुन्छ। मलाई यस्तो लाग्छ। यद्यपि म कुनै राजनीतिक व्यवस्थाको पक्षधर वा धुरन्धर विरोधि होइन।

मेरो भावना साटिएको पुर्खाको भूमिमा जुनसुकै राजनीतिक व्यवस्था भए पनि त्यहाँ रहनुहुने सबै खुसी हुनुहुनेछ भन्ने आशा र विश्वास छ। भित्री चाह पनि यहीँ हो।

पुर्खाको देश डुल्ने मात्रै होइन, गोर्खा अर्थात् नेपालीहरुको इतिहास जान्ने सोचले मेरो मस्तिष्क फराकिलो बनाएको छ। नेपाली भन्ने बित्तिकै मैले नेपालका बारेमा सोध्न र बुझ्न रूचाउँछु। 'रंगुन' पढ्दा पत्रकार दिपक भट्टराई अंकल र उहाँकी श्रीमती माया भट्टराई अन्टीसँग भेट भयो।

उहाँहरूसँगको भेटले मैले नेपाली खाना र नेपाली समाजका बारेमा समेत जान्ने अवसर पाए। नेपालका सुन्दर गाउँ र नेपाली खानाहरू मलाई धेरै मन पर्छ। यत्ति सोच्दा, लेख्दा वा बोल्दा पनि मुख मिठो भइहाल्छ। अब त यस्तो लाग्छ भावनाको गहराई समुद्रको गहिराइभन्दा बढी भइसकेको छ।

जब मैले नेपालको नाम मात्रै थाहा पाउँथे, मनमा थुप्रै जिज्ञासा हुन्थेँ। अहिले त सामाजिक सञ्जाल र कतिपय नेपालीसँग भेटघाट नै भइरहेको हुन्छ। बाल्यकालमा नेपाल सुनेकै भरमा चासोका साथ बुझ्थेँ। अब त पुर्खाको भूमिलाई कहाँ भुल्न सक्छु र? म्यानमार आमासँगै पितृभूमिलाई माया गर्छु। मेरो पुर्खाको देश, मेरो मुटुमा छ। रगतको नाताले गाँसिएको सम्बन्ध कति प्रिय हुँदोरहेछ।

कहिलेकाहीँ नेपाली हुँ भन्दा हेपिने डरले, आफूलाई गोर्खा भन्छौं। गोर्खा नै नेपाली, नेपाली नै गोर्खा हो। शब्दले के फरक गर्छ र? हामीहरुलाई बहादुरको रुपमा मात्रै चिन्नु हुँदैन, बुद्धिमानी पनि छौं। पछिल्लो पुस्ता भाषा, साहित्य र संस्कृतिप्रति रुचिका साथ रमाइरहेका छौं।

हाम्रा घर–घरका छेउमा तुलसीका बोटहरु अझै जिवित छन् र रहिरहने छन्। नेपालबाट ल्याएका खुकुरीहरु कोठा–कोठामा सजाएर राखिएका हुन्छन्। तिहार र तीजमा हप्तौं नेपाली गीतहरुमा रमाइलो गर्छौं। हामीहरू जीवन्त बाँच्ने आधार भनेकै नेपाली संस्कृति हो। हामी विल्कुलै भुल्ने छैनौं, नेपाल र गोर्खाको गर्वलाग्दो इतिहास।

तपाईँहरुले दिनुभएको माया र सद्भावप्रति म निकै आभारी छु। तपाईँहरूको साथ निरन्तर चाहान्छु। धेरै–धेरै माया र धेरै–धेरै धन्यवाद। जय बर्मा, जय गोर्खा।। जय नेपाल।

यो पनि हेर्नुहोस्

प्रकाशित मिति: : 2020-01-22 02:44:48

प्रतिकृया दिनुहोस्