युएईको आबुधाबीमा नेपाली कामदार बोकेको गाडी दुर्घटना, ५ जनाको मृत्यु

फाइल फोटो

युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। 

कामदार सवार बस स्थानीय समयअनुसार बिहीबार बिहान ५ः३० बजे आबुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको हो। काममा गइरहेको अवस्थामा उक्त बस अगाडिको लहरीमा ठोकिए दुर्घटना भएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ।

बसमा २४ जना सवार थिए। त्यसमध्ये १८ जना नेपाली कामदार रहेको दूतावासले जनाएको छ। अन्य ६ जना श्रीलंका र अफ्रिकी मुलुकका महिला कामदार रहेको बताइएको छ। सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन्।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ। 

अन्यको मफरक र अल रहा अस्पतालमा उपचार भइरहेको दूतवासले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-01-16 22:59:01

प्रतिकृया दिनुहोस्