एनआरएनए मलेसियाका अध्यक्ष भट्टराईको चेक नै नक्कली

बिएल संवाददाता

क्लालालाम्पुर

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईको चेक नै नक्कली भएको खुलासा भएको छ।

एनआरएनए श्रमिक कल्याणकारी कोषमा सहयोग हस्तान्तरण गरेको चेक नै नक्कली भएको रहस्य खुलेको हो ।

गत भदौ ६ गते एनआरएनए मलेसियाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका भट्टराईले चेकमार्फत् ५० हजार रिंगेट अर्थात् १४ लाख नेपाली रूपैयाँ श्रमिक कल्याणकारी कोषमा चेकमार्फत हस्तान्तरण गरेका थिए।

भट्टराईले मलेसियामा रहेका मजदूरको पक्षमा काम गर्न कल्याणकारी कोषमा चेकमार्फत् दिएको रकम अहिलेसम्म कोषको खातामा जम्मा हुन सकेको छैन ।

अध्यक्ष भएको पाँच महिना बितिसक्दा पनि भट्टराईले दिएको चेकको रकम कोषमा जम्मा नभएपछि चेक नै नक्कली खुलेको हो ।

कल्याणकारी कोषका एक पदाधिकारीले भट्टराईको चेक नक्कली भएको दाबी छ। ‘अध्यक्षज्यूले चेकमार्फत् कोषमा सहयोग गर्नुभयो,’ ती पदाधिकारीले भने, ‘उहाँले दिनुभएको रकम अहिलेसम्म कल्याणकारी कोषमा जम्मा हुन सकेको छैन।’

एनआरएनए मलेसियाका एक अधिकारीका अनुसार, सन् २०१९ डिसेम्बर २८ मा एनआरएनए कार्यसमितिको बैठकले कल्याणकारी कोषमा रकम जम्मा गर्न आदेश दिएको थियो। अध्यक्षले नै दिएको रकम जम्मा नभएपछि पदाधिकारी समेत अलमलमा परेका छन्।

यस विषयमा भट्टराईसँग पटक–पटक बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।

प्रकाशित मिति: : 2020-01-14 01:13:40

प्रतिकृया दिनुहोस्