हुम्लामा हिमपात: कर्णाली चिसाेले प्रभावित

कर्णालीका सबै जिल्लामा चिसो बढेको छ। बिहिबार बढेको चिसोले कर्णाली प्रदेशको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण स्थानीयबासी घरबाहिरको काममा निस्कन सकेका छैनन्। 

चिसो बढेपछि बिहीबारदेखी हुम्लामा हिमपात सुरु भएको छ। हिमपातका कारण हुम्लाका स्थानीयलाई घर बाहिर निस्कन मुस्किल परेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्। 

कर्णालीका अन्य हिमाली जिल्ला जुम्ला, मुगु र डोल्पाको उच्च भू–मागमा हिमपात सुरु भएको छ। कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा सामान्य वर्षा भैरहेको छ। 

चिसोले बालबालिका, वृद्धवृद्धा बढी प्रभावित भएका छन्। हुम्लाको तापक्रम माइनस १३ डिग्री सेल्सियस पुगेको छ भने जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। त्यस्तै वीरेन्द्रनगरको न्युनतम तापक्रम १० दशमलव १५ डिग्री सेल्सियस पुगेको जल तथा मौषम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विदोद पराजुलीले बताए।

उनले सुर्खेत रातानाङ्लाको मौसमी राडरले शनिबारसम्म लगातार कर्णालीको हिमाली क्षेत्रमा हिमपात र पहाडी भेगमा वर्षाको सम्भावना देखाएको बताए। 

चिसो बढेसँगै हिमपात, वर्षा, हुस्सु र हावाको तीब्र बेगका कारण कर्णालीमा हवाई उडान समेत प्रभावित भएको छ।

प्रकाशित मिति: : 2020-01-03 09:53:30

प्रतिकृया दिनुहोस्