डोल्पा अस्पतालका विरामीले भोको बस्नु नपर्ने

जिल्ला अस्पताल दुनैमा भर्ना भएका बिरामीले अब घरपरिवार र आफन्तले खाना ल्याएर आउँदैनन् कि, भनेर चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य भएको छ।

जिल्ला अस्पताल ब्यवस्थापन समितिले अस्पतालमा भर्ना भएका विरामीलाई खाना नास्ता र बिहान बेलुका चियाको ब्यवस्था गर्ने निर्णय गरेपछि समयमै खाना लिएर परिवार आउँदैनन् कि भनेर चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य भएको हो।

जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले अस्पताल भर्ना भएका विरामीलाई बिहान ७ बजे र बेलुका चिया, दश बजे खानासँग अण्डा, दिउँसो रोटी तरकारी हप्तामा दुई पटक मासु  र बिरामीको अवस्था अनुसार मानवोचित सेवा उपलब्ध गराउने निर्णय गरेको हो।

अस्पतालमा रहेकी कृष्णदेवी भारतीले अस्पताल ब्यवस्थापनले युवा नेतृत्व पाएसँगै विरामीलाई उपलब्ध गराउने भनेको सेवा अहिलेसम्मकै उदाहरणीय काम भएको बताइन्। उनले भनिन्, ‘अस्पतालमा भर्ना हुने सबै विरामीको आर्थिक अवस्था एउटै हुँदैन, कसैको बिहान बेलुका खाना खानलाई समेत समस्या पर्ने गरेको थियो। यसले गर्दा नियमित खानासँगै स्वास्थ्यको लागि चाहिने भिटामिनसहितको सन्तुलितआहार समेत पाउने छन्।

दिनमा दुई गुणा रातमा चौगुणा मुल्य आकासिने सदरमुकाम दुनैमा विरामीका आफन्तलाई आर्थिक अभावमा नियमित सन्तुलित खाना खुवाउन समस्या परेको कतिपयको अवस्था नाजुक रहेको पाइएको छ।

बिरामीले अस्पतालमा रहँदासम्म खानाको अभावमा तडपिनु नपरोस ढुक्कका साथ उपचार गराउन सकुन भनेर खाना नास्ता र चियाको ब्यवस्था गर्ने निर्णय गरिएको ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर रोकायले बताए।

यसैगरि अस्पतालका विरामीहरूले उपचार गराउँदा जाडोको सकस नपरोस भनेर दैसीभैलो खेलेर जम्मा भएको रकमले १७ वटा फाइबर सिरक, चार वटा हिटर र चामल समेत उपलब्ध गराइएको अध्यक्ष रोकायाले जानकारी दिए।

जिल्ला अस्पताल दुनै। विरामीहरुलाई जाडोको सकसबाट बच्न अस्ताल ब्यवस्थापन समितिले वितरण गरेको सिरक हिटर र खाद्यन्न बुझ्दै विरामी।

प्रकाशित मिति: : 2019-12-28 11:12:00

प्रतिकृया दिनुहोस्