भारतीय राजदूतको बिदाइ: राजपाले गर्‍यो पाँचतारेमा भोज, देउवाद्वारा १ घण्टे छलफल

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिदाइ गरेका छन्।  

सोमबार देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर पुरीको बिदाइ गरेका हुन्। सो क्रममा देउवासहित शीर्ष नेताहरु र पुरीबीच करीब १ घण्टा छलफल भएको स्रोतले बताएको छ।  जसमा सबैलाई विशेष भोजको व्यवस्था गरिएको थियो।  

राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन्। यसअघि आइतबार पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका थिए।

आइतबार नै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि पुरीको बिदाइमा कार्यक्रम आयोजना गरेको थियो।  

काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा एक समारोहकाबीच राजपाले राजदूत पुरीको बिदाइ गरेको थियो।

पुरीको बिदाइका लागि आयोजित कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, संसदीय दलका नेता महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झालगायत नेताहरु उपस्थित थिए।  

यस्तै मंसिर २३ गते राजदूत पुरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा पुगेर विदाइ भेट गरेका थिए।  
 

प्रकाशित मिति: : 2019-12-24 02:14:19

प्रतिकृया दिनुहोस्