काठमाडौंबाट ६ केजी कोकिनसहित ४ विदेशी नागरिक पक्राउ

बिएल संवाददाता

काठमाडाैं,Dec 22, 2019
फाइल तस्बिर

 प्रहरीले काठमाडौंबाट ६ केजी अवैध लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारुसी नागरिक पाभेल भेसिलयू र राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना रहेका छन्। पाभेल र एलिना काठमाडौंबाट हङकङ जान लागेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

वोलिभियन नागरिक रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज भने काठमाडौंको लाजिम्पाटस्थित लस्ट गार्डेन होटलबाट पक्राउ परेका हुन्। विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको वयानका आधारमा प्रहरीले उनीहरुलाई होटलबाट पक्राउ गर्न सफल भएको हो।

विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ४र४ वटा ज्याकेटमा फल्स बटम बनाइ लैजान लागेको अवस्थमा ६ केजी कोकिन बरामद भएको डीआइजी दिनेश अमात्यले जानकारी दिए।

 बरामद भएको कोकिनको बजार मूल्य करिब १५ करोड रुपैयाँ बराबरको हुन सक्ने अमात्यले बताए।

शनिबार पक्राउ परेका चारै जनालाई लागूऔषध नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-23 05:08:21

प्रतिकृया दिनुहोस्