एउटा प्लेटमा दुई रोटि, एक कचौरा तरकारी, एक कचौरा दाल र एक कचौरा भात
शिव सेनाले महाराष्ट्रमा बसोबास गर्ने गरिबका लागि १० रुपैयाँमा पौष्टिक खानाको व्यवस्था गर्ने घोषणा गरेको छ।
यसै महिना महाराष्ट्रमा सत्तासिन भएपछि शिव सेनाले आफ्नो वाचा पुरा गरेको हो।
शिव सेनाले आफ्नो नेतृत्वमा राष्ट्रवादी कांग्रेस र कांग्रेससँग मिलेर सरकार बनाएको थियो।
मुख्यमन्त्री उद्धव ठाकरेले शिव खाना योजनाअन्तर्गत १० रुपैयाँमा पौष्टिक प्लेटको घोषणा गरे। राज्य सरकारबाट घोषित योजनाअन्तर्गत प्रति किसान २ लाख रुपैयाँसम्म अनुदान र पौष्टिक खाना उपलब्ध गराउने बताइएको छ।
किसानलाई आर्थिक लाभ दिने, सिँचाइ आयोजनाको गति बढाउन महत्वपूर्ण योजना ल्याउने, धान उत्पादकलाई थप अनुदान उपलब्ध गराउने, समृद्ध राजमार्गको गति बढाउने, राज्य र सीएमओको विशेष कार्यालय सुरु गर्ने लगायत लोकप्रिय योजना ठाकरे सरकारले अघि सारेको शिव सेनाका एक नेताले जानकारी दिए।
मुख्यमन्त्री ठाकरेले निर्माण कार्यमा नयाँ प्रविधिको प्रयोग गर्ने समेत बताएका छन्। सरकारले गरिब र किसान लक्षित लोकप्रिय कार्यक्रम ल्याएपछि, विपन्न वर्गमा भने खुशीको लहर छाएको छ।
शिव भोजनः १० रुपैयाँमा पूरा खाना
शिव खानाअन्तर्गत १० रुपैयाँको लागि प्लेट दिने केन्द्रहरू छिट्टै सुरु गरिने खाद्य तथा नागरिक आपूर्ति विभागले जानकारी दिएको छ। राज्यमा गरिब र भोका मानिसहरु छैनन् भन्ने संकेत गर्नपनि सरकारले शिव खानाको योजना ल्याएको मुख्यमन्त्री ठाकरेले बताए।
यो योजना राज्यका ५० स्थानमा सुचारु गरिनेछ। यी केन्द्र राज्यको जिल्ला सदरमुकाममा सरकारले सुरु गर्नुपर्ने बिभागले बतायो। योजनाअन्तर्गत ३ महिनामा नतिजा देखिएपछि शिव फूड प्लेट पूरै राज्यमा लागू गरिने छ।
प्लेट मेनू
एउटा प्लेटमा दुई रोटि, एक कचौरा तरकारी, एक कचौरा दाल र एक कचौरा भात हुनेछ। एक रोटी ३० ग्राम हुनेछ, तर तरकारी सय ग्राम, दाल १५० ग्राम र चामल सय ग्राम हुनेछ।