संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।
स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन्। मृत्यु हुनेहरुमा बिमानका पाइलट पनि रहेका छन्। यस्तै दुई बालबालिका समेत रहेका छन्। बिमानमा कूल १२ जना सवार थिए।
एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ।
उक्त बिमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय बिमानस्थलतर्फ उडिरहेको थियो।
अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।