बयानकर्ताले भने, 'ट्रम्पले दबाब दिएकै हुन्'

अमेरिकी उपसहायक विदेशमन्त्री जर्ज केन्ट र युक्रेनका लागि अमेरिकी राजदूत बिल टेलर । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन भैरहेको संसदीय सुनुवाइको आज अमेरिकी टेलिभजनहरूले प्रत्यक्ष प्रसारण गरेका छन्।

प्रमुख टेलिभिजन च्यानलहरूले आज युक्रेनका लागि राजदूत बिल टेलर र विदेश मन्त्रालयमा युक्रेनलगायत पूर्वी युरोप हेर्ने उपसहायक विदेशमन्त्री जर्ज केन्टसँग लिइएको बयानको प्रत्यक्ष प्रसारण गरेका हुन् ।

प्रतिनिधिसभाको अनुसन्धान समितिमा लिइएको बयानको सुरूमा समितिका अध्यक्ष आदम सिफले सुरुवाती मन्तब्य दिए । त्यसपछि माथिल्लो मर्यादाक्रमका रिपब्लिकन सांसद डेभिड नुन्सले आफ्नो धारणा राखे । 

समितिको कार्यसूचीअनुसार त्यसपछि उपसहायक विदेशमन्त्री जर्ज केन्ट र युक्रेनका लागि अमेरिकी राजदूत बिल टेलरले आफ्नो प्रारम्भिक मन्तब्य राखे।

मन्तव्यपछि उनीहरुलाई समितिका सदस्यहरूले विभिन्न प्रश्न सोधेका थिए । 

डेमोक्रेट सांसदहरूको राष्ट्रपति ट्रम्पले उनका युक्रेनी समकक्षीलाई पूर्वउपराष्ट्रपति जो बाइडनमाथि छानबिन गर्न दवाव दिएको उत्तर आउने कोणबाट प्रश्न गरेका थिए भने रिपब्लिकन सांसदहरू यसको ठीक विपरित कोणबाट प्रस्तुत भएका थिए । 

वयान दिने दुबै कूटनीतिज्ञहरूले अमेरिकी राष्ट्रपति ट्रम्पले दबाब दिएको बताए । उनीहरूले भने, 'यदि युक्रेनलाई सहयोग चाहिने हो भने उसले पूर्वउपराष्ट्रपति जो बाइडन र उनको छोरामाथि छानबिन गर्न सार्वजनिक रूपमै प्रतिवद्धता व्यक्त गर्नुपर्ने थियो ।'

तर, पछि युक्रेनी राष्ट्रपतिले त्यसो नगरे पनि ट्रम्पमाथि अमेरिकी संसदको बाइपार्टिसन दबाबका कारण युक्रेनलाई सहयोग दिइएको थियो ।

साक्षीहरूले जे भने पनि अमेरिकी राष्ट्रपति ट्रम्प भने त्यसलाई स्विकार्ने पक्षमा छैनन् । उनले सुरूदेखि नै आफ्नो टेलिफोन 'पर्फेक्ट' थियो भनिरहेका छन् । 

अर्को सुनुवाइ शुक्रबार हुने कार्यतालिका बनेको छ । अझै ६ जना साक्षीहरूको वयान लिने भनिएको छ । तर, कतिपयले आउन मानिरहेका छैनन् ।

प्रकाशित मिति: : 2019-11-14 07:37:39

प्रतिकृया दिनुहोस्