अमेरिकाकै पहिलो शिख सरिफ डेपुटीको टेक्सासमा गोली हानी हत्या

अमेरिकाकै पहिलो शिख सरिफ डेपुटी नश्लवादी हत्याराको शिकार । तस्बिर : ह्यारिस काउन्टी सरिफ अफिस ।

अमेरिकाको टेक्सासमा एक भारतीय मूलका शिख प्रहरी अधिकारीको गोली हानी हत्या गरिएको छ ।  

मारिनेमा ह्यारिस काउन्टीका सेरिफ डेपुटी सन्दीप धालिवाल रहेका छन् । 

उनले शुक्रबार दिउँसो १२:४५  बजे सवारी नियम उलंघन गर्ने एक कारलाई ट्राफिक स्टपमा रोकेका थिए । ड्राइभरसिटको ढोका खुल्ला रहेको कारको त्यो ढोका लगाइदिएर उनी आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै गर्दा ड्राइभिङ सिटमा रहेको व्यक्ति निस्केर उनलाई पछाडिबाट कम्तिमा पनि दुई राउण्ड गोली प्रहार गरेको थयो । 

गोलीप्रहार गरेपछि ऊ तुरूत फर्केर गाडी हाँक्दै भागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय मेमोरियल हर्मन अस्पतालमा भर्ना गरिएका उनको उपचारको क्रममा निधन भयो । 

यसैबीच उनलाई गोलीप्रहार गरी भागेको ४७ वर्षीय रबर्ट सलिसलाई नजिकैको एक स्टोबाट पक्राउ गरिएको छ । ऊ अपराधी पृष्ठभूमि भएको व्यक्ति भएको बताइएको छ । उसलाई सन् २००२ मा अपहरणको घटनामा २० वर्ष सजाय भएको थियो । सन् २०१४ मा जमानतमा छुटेको उसले सन् २०१७ मा उसकी केटी साथीलाई आक्रमण गरी ज्यान मार्ने कोशिस गरेको थियो । 

४२ वर्षीय धालिवाल सेरिफ डेपुटी हुने पहिलो शिख थिए । १० वर्षदेखि कार्यरत उनका तीन सन्तान रहेको बताइएको छ । उनी आफ्नो समुदाय र परोपकारी कामका लागि सुपरिचत रहेको उनका सहकर्मीले बताएका छन् । 

 

प्रकाशित मिति: : 2019-09-28 09:47:36

प्रतिकृया दिनुहोस्