अमेरिका आउने नेपालीको 'तल्लो बाटो' बन्द !

अनुदारवादीहरूको बहुमत भएको अमेरिकी सर्वोच्च अदालत आप्रवासीमैत्री छैन । तस्बिर : एजेन्सी

अमेरिकी सिमाक्षेत्रमा अब एसाइलम लगभग असम्भव हुने भएको छ । बुधबार सर्बोच्च अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरिदिएपछि यस्तो परिस्थिति सिर्जना भएको हो ।

अब अमेरिकी सिमाक्षेत्रमा एसाइलम आवेदन दिन बाटोमा पर्ने कुनै एउटा देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको वा एकदमै कडा प्रकारको मानव तस्करीको शिकार भएको व्यक्तिमात्र अमेरिकामा एसाइलम आवेदन दिन योग्य हुनेछ । यो नियमले अब सिमाक्षेत्रमा मेक्सिकनबाहेक अरु देशका नागरिकका लागि एसाइलमलाई खारेज गरिदिएको छ भने पनि हुन्छ । 

ठूलो संख्यामा नेपालीहरु ल्याटिन अमेरिकी देशहुँदै तल्लो बाटोबाट अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्दै आएका थिए । नयाँ नियमले अब षङयो बाटो नेपाली आउने कुरा 'आकाशको फल आँखा तरी मर' भनेजस्तै हुने भएको छ । 

ट्रम्प प्रशासनले जुलाईमा ल्याएको यो नियय लामो कानुनी लडाईं झल्दै अन्तत: सर्वोच्च अदालतबाट किनारा लागेको छ । यसअघि सोमबार मात्र क्यालिफोर्नियाको एकजना संघीय न्यायाधिसले यो नियम कार्यान्वयन नगर्न देशब्यापी रुपमा आदेश जारी गरेका थिए । त्यसको दुईदिनपछि सर्वोच्च अदालतले यो विषयको अन्तिम किनारा लगाइदिएको छ । 

पुरातनवादी न्यायाधीशहरूको बाहुल्यता भएको सर्वाेच्च अदालतका न्यायाधीशको बहुमतले यो निर्णय गरेको हो । दुई न्यायाधीशले भने यस फैसलामा असहमति जनाउँदै फरक मत लेखेका छन् । 

 

प्रकाशित मिति: : 2019-09-13 03:48:33

प्रतिकृया दिनुहोस्