अमेरिकामा पनि लाशमाथि नेपाली कांग्रेसको चारतारे झण्डा ओढाउन सुरू गरिएको छ । गत बुधबार सान्फ्रान्सिस्कोको बे एरियामा आत्महत्या गरेकी २७ वर्षीय सुनिता लिम्बूको शुक्रबार दाहसंस्कार गर्नुअघि उनको लाशमाथि चारतारे झण्डा ओढाइएको हो ।
आफ्नै कोठामा पासो लगाएर जीवन अन्त्य गरेकी सुनिता एक सन्तानकी आमा थिइन् । श्रीमान् बेलायतमा रहेका सुनिता आफ्ना आमाबुबासँगै बस्थिन् । स्थानीय एक नेपाली रेष्टुरेन्टमा काम गर्ने उनले के कारणले आत्महत्याको बाटो रोजिन् त्यसबारेमा केही पनि सार्वजनिक भएको छैन । प्रहरीले सुसाइड नोटका आधारमा अनुसन्धान गरिरहेको बताएको छ ।
तर, उनै सुनिताको लाशमाथि चारतारे झण्डा ओढाएर अन्तिम संस्कार गरियो । सम्भवत: अमेरिकामा गरिएको यो पहिलो झण्डा ओढाउने कार्य अहिले चर्चाको विषय भएको छ ।
केहीले यसलाई गलत परम्पराको थालनी भनेर आलोचना गरेका छन् भने आयोजकले भने यसको बचाउ गरेका छन् । उनीहरूले सुनिता नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्य रहेकी, उनकी आमा गोमा अधिकारी लिम्बु नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरकी कोषाध्यक्ष र बाबु गणेश लिम्बु पनि तरुण दलको केन्द्रीय स्तरको नेता भएकाले झण्डा ओढाएको बताएका छन् । तर, आलोचकहरू भने उनीहरूको तर्कसँग सहमत छैनन् । उनीहरूमध्ये एक सञ्चारकर्मी सानुबाबु सिलवाल लेख्छन्- 'प्रबास अमेरिकामा केहि दिन अघि मात्रै आफैद्वारा आत्महत्या-आत्मदाह गरेकि एक निर्दोष चेलिको लास माथि पनि नेपालको चार तारे झन्डा? वाहा वाहा! कति हतार आत्महत्याको लासमा यति चाडो झन्डा ओढाएर राजनैतिक लाभ लिन खोज्ने केहीको बलमिच्याइ र प्रबासमा पनि नेपालकै राजनितिको फोहोरि निरन्तरता? '
तर, अमेरिकामा पनि लाशमाथि चारतारे झण्डा ओढाइने कुरा अलि अनौठो नै सुनिने रहेछ । त्यसैले यो समाचरा बनेको हो, चर्चा परिचर्चाको विषय बनेको हो । पत्रकारिताको सबैभन्दा पुरानो र सर्वकालिक एक परिभाषाले भन्छ- 'जब एउटा कुकुरले मान्छेलाई टोक्छ, त्यो समाचार बन्दैन तर जब एउटा मान्छेले कुुकुरलाई टोक्छ तब त्यो समाचार बन्छ ।' यसको अर्थ सबै अनौठा कुरा समाचार हुन्छन् ।