अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध रिपब्लिकन पार्टीबाटै उम्मेद्वारी घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध पूर्वकंग्रेसमेन तथा पुरातनपन्थी रेडियो होस्ट जो वाल्सले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

आइतबार एबीसीको 'दिस विक' कार्यक्रममा सहभागी हुदै उनले उम्मेद्वारी घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले चुनाव जितेको देख्न नचाहेको बताउँदै उनले भने- म आफूले सकेको गर्नेछु । म सफल भइन भने पनि उनलाई मतदान गर्ने छैन । '

उनले राष्ट्रपति ट्रम्पले पुन: चुनाव जिते रिपब्लिकन पार्टी ध्वस्त हुने बताउँदै त्यसबाट अमेरिकाको मान र प्रतिष्ठा पनि धुमिल हुने बताए । उनले राष्ट्रपति ट्रम्पका लागि अयोग्यलगायतका धेरै उपमा पनि दिए । सन् २०१६ को चुनावमा उनी राष्ट्रपति ट्रम्पका पक्षधर थिए ।

यसअघि विहीबार मात्र उनले उम्मेद्वारी दिने सोचाइ भैरहेको बताएका थिए । 

अति दक्षिणपन्थी टीपार्टी कंग्रेसमेन वाल्स विवादास्पद वयानका लागि नामूद मानिन्छन् । उनी टी पार्टीको समर्थनमा इलोनोयबाट सन् २०११ मा कंग्रसमेन चुनिएका थिए । 

राष्ट्रपति ट्रम्पले पार्टी नै हाइज्याक गरिसकेको यसअघि नै रिपब्लिकन पार्टीका जिम्मेवार नेताहरूले बताइसकेका छन् । अहिले पनि उनको रिपब्लिकन पार्टीमा ८८ प्रतिशत एप्रुभल रेट रहेको बताइन्छ । 

यस्तो अवस्थामा ट्रम्पलाई उछिन्न त लगभग असम्भव नै छ तर कसैले उम्मेद्वारी दिए भने उनी कमजोर हुने राजनीतिका पण्डितहरू बताउँछन् । 

हुन त राष्ट्रपति ट्रम्पलाई चुनौति दिने घोषणा गर्ने वाल्स पहिलो व्यक्ति हैनन् । यसअघि नै म्यासाचुसेट्सका पूर्वगभर्नर बिल वेल्ढ र पूर्व कंग्रेसमेन मार्क सानफोर्डले पनि उम्मेद्वारी दिने घोषणा गरेका थिए । तर, उनीहरू दुबैले चुनावी क्याम्पेन सुरू गरेको भने सार्वजनिक भएको छैन । 

 

 

प्रकाशित मिति: : 2019-08-26 00:45:37

प्रतिकृया दिनुहोस्