ज्ञानकाे मार्गमा गाेराहरु–२
'भागवत गीतामा भगवान श्रीकृष्णले नाता सम्बन्ध सब मित्थ्या हुन् भन्नुभएको छ नि' भर्खरै बनेको अमेरिकी मित्र जेसनले सुनायो, अनि सँगै प्रश्न पनि गर्यो था छ नि हैन तिमीलाई ?
मलाईं झ्वाट्ट स्कुले विद्यार्थी छँदा हेरेको हिन्दी सिरियल महाभारतको याद आयो, कृष्णले अर्जुनलाई सुनाएका कुराहरु सम्झिदै भने-'था'छ, था'छ।
आफन्तविरुद्ध युद्ध गर्दिन भनेर हतियार त्यागेर बसेका अर्जुनलाई भगवान श्रीकृष्णले जीवन र जगतबारे अर्थ्याउँदै भनेका महान दर्शन मैले त्यही महाभारत सिरियलमा हेरेकी हुँ। त्यतिबेला त्यस्ता गहन कुरा के बुझ्नु थियो र?, उल्टो झर्को लागेको थियो। हप्ता दिन कुरेर बल्ल-बल्ल आइतवार आउँथ्यो, ३-४ एपिसोड सकिई सक्यो, उहीँ अर्ति-उपदेश। कहिले सकिएला जस्तो भाथ्यो? तै भगवान कृष्णको भूमिकामा रहेका नितिश भारद्व्वाज असाध्यै मन पर्थो, उनैलाई हेरेर भएपनि समय कट्थ्यो।
त्यही अल्पज्ञानका भरमा मैले जेसनलाई गफ लाएँ। हो, हो शरीर नरहे पनि आत्मा मर्दैन भनेको छ गीतामा। त्यसपछि जेसनले गीता सार भन्दै अंग्रेजीमा के के भन्यो मैले केही बुझिन।
दुई दिनपछि जेसन फेरि टुपुल्कियो- उही परिचित शैलीमा हरेकृष्ण भन्दै। उफ्, फेरि गीताको कुरा झिक्ने भयो भनेर म तर्किन खाजे तर कहाँ धर पाउथे र? तिमीसँग गीता छ भनेर पो सोध्छ बा। मैले– छैन भने।
झोलाबाट 'भागवत गीता एज इट इज' लेखेको किताव दिदै भन्यो- मलाई थाहा थियो तिमीसँग गीता छैन, ल पढ तिमीलाई ल्याइदिएको।'
अक्क न बक्क परेर उसलाई हेरें। उसले भन्यो- छक्क नपर यो तिम्रै लागि हो।
अरे बाबा के साह्रो बेइज्जत हो। हिन्दु बाहुन भनी टोपलेकी मैले गीता पढेकी छैन? यो अंग्रेज क्रिसमसको मुखैमा मलाई गीता सार सुनाउदै भागवत गीता थमाउँछ।
लौ भएन भनेर मैले उसलाई सोधें- हैन तिमीलाईं यो गीता र कृष्णमा यत्रो मोह कहाँबाट पलायो?
उसले भन्यो- 'गीता पढ्नु अगाडि म जंगली थिए, मान्छे नै थिइँन, जीवन जगतबारे केही थाहा थिएन तर गीता पढेपछि जिन्दगी बद्लियो।'
अनि सनातन धर्म कति महान छ भनेर अर्थ्याउन थाल्यो। मैले ट्वा परेर सुनें- आधि बुझेँ। आधि बुझिँन।
कान्तिपुर टेलिभिजनबाट राजीनामा दिइसकेपछि केही दिन विदा मनाउँ भनेर अमेरिकाको कोलोराडो पुगेकी थिएँ। पूर्वपरिचित नेपाली दाइ बी.के. श्रेष्ठको बोल्डर सहरस्थित गिफ्ट शप घुम्ने मौका जुर्यो। पसल पुग्दा ठ्याक्कै ठमेल पुगेको अनुभूति भयो। अनगिन्ति भगवानका मूर्तिहरु, प्राय: सबैजसो सामान नेपालमा बनेका। केही भारतीय पनि।
पसल घुम्दै गर्दा अमेरिकी ग्राहकले हिन्दू भगवानका बारेमा लिएको चासो देखेर म छक्क परे। बूढा भन्दै काेही भगवान बुद्धका मूर्ति सुम्सुम्याउने। कोही भगवान गणेशको मूर्तिमा ढोगी हाल्ने।
विश्वको एकमात्र हिन्दू राष्ट्र्बाट केही वर्षअघि मात्र धर्मनिरपेक्ष बनेको देशकी नागरिक म। त्यसो गर्दा पहिचान मेटाएका हौ कि, अग्रगामी भएका हौ खुट्याउन नसक्ने भएँ म त।
हुन त आफ्नो मुलुकमा हुँदा पहिचानको महत्व नै कहाँ हुन्छ र? बरु, यस्ताखाले पहिचानले पछौटे पो कहिलिने हो कि भनेर आफूलाईं अग्रगामी देखाउन भरपुर प्रयत्न गरिन्थ्याे नेपालमा।
विगत १० वर्षदेखि नेपाली गिफ्ट सामानको व्यापार गर्दै आउनु भएका बी के दाइलाई सोधेँ- 'अहो दाइ, यहाँ त सबैलाइ बुद्ध भगवान अनि हिन्दु देवताका बारेमा थाहा रैछ।
उहाँले भन्नुभयो- 'तपाईं त पत्रकार मान्छे। एकदिन देखेर सबै कुरा थाहा हुदैन। केही दिन यही बसेर अध्ययन गर्नुस्।'
कुरो जच्यो मलाई। अध्ययन पनि हुने अनि समय पनि कटिने, अंग्रेजीमै सोचेँ-ह्वाइ नट गिभ अ ट्राइ?
अनि धाउन थाले बीके दाइको पसल। जो आउँछन्, 'बुडा बुडा' भन्छन्। कसैलाई अर्धमूदित नयनवाला बुद्ध चाहिएको छ, कसैलाइ विपिङ्ग (रोइरहेको) बुद्ध, हुँदाहुँदा त कोही त फ्यूचर बुद्ध चाहियो भन्छन्। मैले त सुनेको पनि थिइँन–फ्यूचर बुद्ध पनि हुन्छन भनेर। ए हो र भन्नुपर्ने उनीहरूका अगाडि।
कोही बुद्धका यति धेरै रुप किन भनेर मूर्ति अगाडि हात जोडेर सोध्छन्। मानौ बुद्धकी खास चेली मै हुँ। म अज्ञानी के जवाफ दिनु? बुद्धपछिको अर्को चासो गणेश अनि शिव भगवान। 'गनेस' भन्ने हात जोडी हाल्ने।
धेरैलाइ गणेश,शिव,कृष्ण अनि देवीहरुका कथा कन्ठै। मलाई उल्टै सुनाउँथे, आधी सूड भएको गणेशको अर्थ याे हाे? अनि पुरै भएकोमा अर्थ याे। कठैवरा काठमाडौका चार प्रसिद्ध गणेश स्थान अहिलेसम्म नघुमेकी मैले के जवाफ दिनु? तैपनि निकै जानेझैं गरेर म 'हो हो तिमीलाईं निकै था रै'छ' भन्थे।
धुप उत्तिकै विक्थ्यो। आफनो संस्कृतिका बारेमा अरुले चासो लिएको देखेर चकित भइरहेकै बेला बीके दाइले थप चकित पार्नुभयो। यहा बोल्डरमा त प्राय: रैथाने किनमेलका लागि आउँछन। केही मात्र बाहिरका तर कोलोराडो स्प्रिचुअल टुरिस्ट हव हो। अमेरिका र युरोप अनि अष्ट्रेलियनसमेत त्यहाँ पुग्छन घुम्न। त्यहाँको मानिटिउ स्प्रिङ्गमा रहेको मेरो यस्तै गिफ्टशपमा जानुभयो भने त अमेरिकाभरिका मानिसको धारणा बुझ्न सक्नु हुन्छ।
मलाई के चाहियो घुम्ने र बुझ्ने अर्को एक मौका। लागे मानिटिउतिर। हाम्रो पोखराको झल्को दिने मानिटिउ स्प्रिङ्ग सानो नगरजस्तो रहेछ। पर्यटकलाई लक्षित गरी खोलिएका पसलहरु। धेरैजसो गिफ्टशप नै रहेछन्। केही दिन यतै डेरा जमाउने निधो गरे। यही पसलमा बस्दै गर्दा मैले सुरुमै उल्लेख गरेको जेसनसँग भेट भएको हो।
हरेकृष्ण माताजी भन्दै ऊ पसलमा आएको थियो। हुन त हरेरामा हरेकृष्ण भन्दै हिड्ने अरु अंग्रेज मैले नेपालमा हुँदा पनि देखेकी हुँ। काठमाडौको झोछें कुनैबेला त्यस्ता हिप्पीहरुको अखडा नै थियो र अहिले पनि धेरै अंग्रेजलाई ठमेलमा त्यही रुपमै देख्न सकिन्छ।
तर, जेसनमा हिन्दू धर्मका बारेमा अथाह ज्ञान थियो । प्रत्येक हिन्दू धार्मिक ग्रन्थका पात्र उसलाइ कन्ठै थिए । गीताका एक एक पंक्तिको धारा प्रवाह वर्णन गर्थो । एक कट्टर हिन्दू थियो जेसन । मलाई अचम्म लाग्थ्यो यति सानो उमेरमा अर्को धर्म र संस्कृतिका बारेमा कहिले अध्ययन गर्न भ्यायो होला भनेर । कहिलेकाहीं रिसले रातोपिरो हुदैँ पसलमा आउँथ्यो के भयो भनेर सोध्दा 'हेर न यहाको सार्वजनिक पुस्तकालयमा नक्कली गीता राखिदिएछन् पापीहरुले' भन्थ्यो ।
हेर्दा मोडेलजस्तो देखिने पेसाले नर्स जेसनका बारेमा लेख्न थाल्यो भने एउटा सिङ्गो किताब नै बन्छ । पसलमा आउने प्रायजसो ग्राहकको चासो बुडा, गनेस, शिवा, लाक्समी, डुरगा अनि ॐ मा हुने गर्थ्यो । अनि मेरो चासोचाहिँ उनीहरुमा । मौका मिल्नासाथ सोधी हाल्थेँ- 'कसरी थाहा पायौ ?'
धेरैजसोको जवाफ एउटै हुन्थ्यो- 'योगा ध्यान गर्दा थाहा पाको, योगा गर्दा यी देवी देवताका बारेमा पनि जानकारी पाइन्छ, साह्रै श्रद्धा लाग्छ” ।
कतिपय ॐ अङ्कित लकेट लगाइरहेको भनेर देखाउँथे । वालकदेखि बृद्धसम्म मेडिटेसन बलमा तानिन्थे । बजाउने कोशिस गर्थे । मैले त्यो बजाउन सिकिसकेको थिएँ र बजाउन नजान्नेहरुलाईइ योगा गुरु नै हु कि भनेझैँ गरी बजाएर देखाइ दिन्थे, उनीहरु मख्ख पर्थे ।
योगका बारेमा पश्चिमी मुलुकमा पछिल्ला दिनमा निकै चासो बढेको सुनेकी थिएँ, यहाँ आएपछि धेरैका मुखबाट सुनेँ । एकजनाले सुनाए- 'आमा क्यान्सरकी विरामी हुनुुहुन्थ्यो, यो मेडिटेसन बलको माध्यमबाट गरिएको उपचारले उहाँको आयुलाई केही लम्ब्यायो अनि सहज मृत्यु दिलायो ।'
पूर्वीय दर्शनमा योग भनिने ध्यान र व्यायामको उत्कृष्ट ज्ञानलाई पश्चिमाले योगा भन्छन । योगाको कक्षा लिन ईच्छुक अमेरिकी मैले कोलोराडोमा धेरै भेटे। कोलोराडोबाट निस्कने प्रायजसो पत्रिकामा योग कक्षामा भर्ना हुनका लागि भनेर विज्ञापन निस्केकै हुन्छन् ।
पसलमा आएकी एक टिनएजर युवती भन्दै थिइन्- 'मलाई योगाको कक्षा लिन एकदमै मन छ तर यहाँ वास्तविक योगा सिकाउने ठाउँ नै भेटिरहेकी छैन ।' जेसन पनि भन्ने गर्थ्यो - 'यहाँ वास्तविक योग सिकाउने ठाउँ नै छैन । न त सिक्नेलाई वास्तविक योगा के हो थाहा छ । योगाका नाममा मानिसहरु जिम्न्स्याटिक सिकिरहेका छन् ।'
वास्तविक योगाका वारेमा कुरा गर्दा मलाई मेरिल्याण्डमा बस्ने मेरा एकजना मित्रले सुनाएको कुरा याद आयो । एउटा नयाँ जिमखाना खुलेको रहेछ । उहाँले त्यसका मालिकलाई योगा पनि राख्न भन्दा उनले भनेछन्- ' मन त थियो तर के गर्नु सिकाउने गुरुनै पाइन्न ।' तैपनि जे पर्ला भनेर योगा कक्षामा पनि भर्ना लिइदैछ भेनेर राखेछन् । भरे त सबैभन्दा बढी त योगाको कक्षामा पो भर्ना भएछन् । जिमखाना मालिकलाई आपत परेछ । योगा मात्र सिकेकी मित्रकी श्रीमतीलाई जसोतसो गुरु बनाएर काम चलाइएछ । अमेरिकामा योगा सिकाउने गुरुको खडेरी र जानेकाले कमाउने आम्दानीबारे सुनेपछि अहो सिक्नु पो पर्नेरैछ जस्तो नलागेको पनि हैन ।
मानिटाउमा क्रिसमसको चहलपहल सुरु भैसकेको थियो । एक अमेरिकी महिला पसलमा आइन् र सोधिन्- 'मेरो श्रीमानको व्यापारमा एकदम घाटा भइरहेको छ कुन भगवानको पूजा गरे फाइदा हुन्छ ? मैले पनि आफ्नो धर्मका भगवानका बारेमा प्रचार गर्ने सुनौलो मौका भेटिहालेँ । अनि, महाज्ञानीझै फटाफट जवाफ दिएँ- लक्ष्मी र गणेश । ती महिलाले लक्ष्मी र गणेश एकसाथ भएको मूर्ति किनिन् र ढोगिन् । जानुअघि उनले पूजा गर्ने विधि पनि सोध्न भ्याइन् ।
क्रिसमस आउनु एक महिना पहिलैदेखि सान्ता क्लाउजका पहिरनमा घुम्ने हिन्दू धर्मावलम्वीहरु भएका देशकी नागरिक म, हर समस्याको एक मात्र समाधान भन्दै सनातन हिन्दू धर्म त्यागेर इशाइ धर्म अंगाल्ने नेपालीको भगवान इशा मसिहप्रतिको आस्था वलियो कि क्रिसमसका बेला हिन्दू धर्मका देवीदेवता पुज्दा आफुलाई फाइदा हुन्छ भन्ठान्ने क्रि्श्चियन महिलाको आस्था बलियो ? केही बुझ्न नसकेर रनभुल्ल परेँ।
कोलोराडो स्प्रिङ्गमा अमेरिकी वायु सेनाको एउटा बेस छ । त्यहाँका पाइलट पनि फाट्टफुट्ट पसलमा आउँथे । त्यहाँ आउने दुईजना जवान पाइलट भने विशेष थिए । कुरैकुरामा एकपटक एकजनाले भनेको थियो- 'तिमीहरुका त कति धेरै भगवान । आफ्नो स्वभाव अनि रुचिअनुसार छान्न पाइने । हाम्रो त माने पनि त्यही एउटा नमाने पनि त्यही एउटा ।' अझ अर्को पाइलट त पुरै शिवभक्त थियो । शिव पुराण कण्ठै रहेछ । महादेवले किन विष निले सर्लक्कै सुनायो मलाई । धार्मिक गुरुको प्रवचन सुने जसरी दंग परेर सुनेँ ।
पसलमा नेपाली लोकधुन वज्थ्यो । जव वासुरी वज्थ्यो ग्राहक मन्त्रमुग्ध हुदै सोधी हाल्थे- 'कुन धुन हो ?' । गर्वले छाति ढक्क फुलाउदै जवाफ दिन्थेँ- 'नेपाली' । उनीहरूको जवाफ हुन्थ्यो- 'अहो कति मीठो, कति जीवन्त, कति मौलिक ।' मादलको धुन वज्दा त उनीहरू नाँची हाल्थे अनि बजाउन नजाने पनि किनेर लैजान्थे ।
पसलमा नेपालको नक्सा थियो, सानो, काठले बनेको । एकजना ग्राहक आए र मोल सोधे । मैले भनें- 'बेच्नको लागि हैन' । उसले जिद्दी गर्यो । मैले सोधें- 'किन यति हत्ते गरेको ?' उसले भन्यो- 'मलाई खै किन हो यो देशको नक्सा अति मन पर्छ ।' फेरि मैले अर्को प्रश्न थपें- 'नेपाल गाको छौ ?' उसले भन्यो- 'अहँ, गा'को छैन तर पनि अत्ति मन पर्छ ।' हेरौ न त कतिको मन पर्दोरैछ भनेर ५० डलर भनेँ । खुरुक्क निकालेर ५० डलरको नोट दियो र नक्सा लिएर गयो । म एक भन्नु न दुई भन्नुको मुद्रामा ऊ गएतिर हेरिरहे ।
साना वालक 'यहाँ नेपालको झण्डा पाइन्छ?' भनेर सोध्थे । किन ? भन्दा 'त्रिकोण आकारको विश्वको त्यो एक मात्र झन्डा हो नि' भन्थे । अहो झण्डाले पनि हाम्रो चिनारीलाई फराकिलो पारिरहेको छ भनेर म गमक्क पर्थे । अनि, कुनैबेला त्यो झण्डा फेर्नुपर्छ भनेर ठुलै कसरत भएको सम्झेर मन अमिलो पनि हुन्थ्यो । लाग्थ्यो माल पाएर चाल नपाएका हामी नेपाली ।
पश्चिमा मुलुकका सेलिब्रिटीले क्रिश्चियन धर्म त्यागेर हिन्दू धर्म अंगालेका प्रशस्त उदाहरण छन् । हलिउडकी प्रसिद्ध नायिका जुलिया रवर्टस, फोर्ड कम्पनिका अल्फ्रेड फोर्ड, विश्व विख्यात सांगितिक समूह द विटल्सका जर्ज ह्यारिसन आदि त्यस्तै केही रोज्जा उदाहरण हुन् । एप्पल कम्प्युटरका निर्माता स्टिभ जब्सको रुचि पूर्वीय आध्यात्ममा थियो । उनी हिन्दूत्व, जेन बुद्धत्वमा रुचि राख्थे । १९ वर्षकै उमेरमा बाबाहरुको संगत गर्न उनी भारत पुगेका थिए । जब्स निम कोरली बाबालाई भेट्न उनको आश्रम नैनिताल पुगेका थिए । बाबाहरु अनि भारतका ग्रामीण भेगका मानिसको संगतले आफ्नो जीवनमा र काममा गहिरो प्रभाव पारेको उनले बताएका थिए । कुनैबेला जेन बुद्ध धर्म अपनाएर जापान गई इ हेजी गुम्बामा ध्यानमा बस्ने सम्मको तरखर उनले गरेका थिए ।
कोलोराडोको यति लामो आफ्नो अनुभव सुनाउनुको मेरो मतलव पक्कै यो होइन कि साराका सारा अमेरिकी हिन्दू धर्मप्रति आकर्षित छन् अथवा उत्पातै हिन्दू भगवानप्रति आस्था राख्छन् । साथै, यो पनि होइन कि हामी धर्मभिरु हुनुपर्छ । तर, एउटा कुरा के चाहिँ पक्कै हो भने हामीले यता छोड्दै गएका कुराप्रति उता चाख बढदैछ । हाम्रा भगवान तिनका गाथा अरु धर्म मान्नेका लागि चासो र उत्सुकताका विषय बन्दैछन् । हामीले त्यो चासो उत्सुकता र आस्थालाइ सम्बोधन गर्न सक्यौ भने यसैबाट ससम्मान मनग्य आर्जन गर्न सक्छौँ । अर्थतन्त्र उकास्ने नाममा अरबका मरुभूमिमा हाम्रा युवालाई पठाउनै पर्दैन । बरु, ती युवालाइ स्वदेशमै शिल्प खोप्न प्रोत्साहित गर्न सक्छौ ।
वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले भन्नु भएजस्तै यो वैश्य युग हो यो । विकाउने कला भए हरेक बस्तु विक्ने यस युगमा हामी हाम्रा ३३ कोटी भगवानका गाथा वेच्न सक्छौ ।
गणेश भगवानप्रतिको आस्था र उत्सुकताले हात्तिप्रति पनि अमेरिकीहरुमा चौपट्टै आकर्षण पाएँ मैले । हात्तिका विभिन्न आकारका मूर्तिदेखि तन्नासम्म मख्ख परेर किनेर लगेको मैले आँखै अगाडि देखेको छु । अरु देशले हतियार बेचेर कमाउँलान्, हामी भगवान वुद्धको जन्मस्थलमा संसारका बुद्ध धर्मावलम्वीलाई भ्रमण गराएर कमाउन सक्छौँ । ईश्लाम धर्मावलम्वीका लागि मक्का-मदिना भएजस्तै हिन्दू र वौद्ध धर्मावलम्वीका लागि पशुपति-लुम्विनी बनाउन सक्छौँ । एक अर्वभन्दा बढी जनसंख्या भएको छिमेकी भारतका हिन्दू धर्मावलम्वीलाई हाम्रा धार्मिकस्थलको भ्रमण गराएर सिंगो अर्थतन्त्र कमाउन सक्छौँ । सनातन धर्म भनेको केवल धर्म होइन, संस्कार हो परम्परा हो भनेर बुझाउन सक्छौँ । यसका लागि धर्मभिरु,अन्धविश्वासी अनि रुढीवादी केही पनि हुनै पर्दैन ।
विडम्वना हाम्रा धर्म संस्कृतिका बारेमा यति चासो लिने ती विदेशी नेपाल आउँदा तिनले हेर्न, देख्न र बुझ्न चाहेका हाम्रा धरोहरहरु विस्तारै मासिदैछन् । भएकाको खै संरक्षण ? चर्च त उनीहरुकैमा छन, हाम्रोमा त मन्दिर नै हेर्न आउँने हुन्, गुम्बा नै हेर्न आउँने हुन् ।
लाहोर बस्ने मेरी पाकिस्तानी मित्र मदिहा जावेदले काठमाडौ ओर्लिनासाथ भनेकी थिइन्- 'म सबैभन्दा पहिला मन्दिर हेर्न चाहन्छु' । कट्टर मुसलमान भए पनि उनले काठमाडोैंमा मस्जिद हेर्न चाहिँनन् । यसको सोझो अर्थ छ- मस्जिद त लाहोरमै छ, उही हेरे भैहाल्यो नि । नभएको त मन्दिर हो त्यहाँ, उनले त्यही हेर्न चाँहिन् ।
सारङ्गी, बिनायो,मुर्चुङ्गा वासुरीजस्ता अनेकौ बाजा बजाउने बजोड सर्जकलाई गाइने र दमाई भनेर हेप्छौ । तिनका गीत-संगीत किनेर सुन्दैनौ तर तिनै संगीतमा मख्ख परेर झुल्ने विदेशी मैले आँखैले देखेको मात्र छैन, उनीहरूका सिर्जना भनेको मोल तिरेर किनेर लगेको पनि देखेकी छु । फलाममा महान शिल्प खोप्नेलाई हामी कामी भनेर छुदैनौ । अनि, किन ती महान शिल्पिका सन्तानले त्यो पेशा सिक्न जाँगर चलाउने ? कथंमकदाचित् सिकिहाले पनि सरकार बजार दिदैन, उचित मूल्य दिदैन ।
न्यूर्योकका मेस्सिज, ओल्ड नेभी,टी जे म्याक्स,जेसी पेन्नीजस्ता ठूला स्टोरमा पाइने ब्रान्डेड लुगामा 'मेड इन बंगलादेश' देख्दा छिमेकी देशले मारेको फड्को देखेर खुशी र दुख एकैपटक लाग्छ । हरेक ढुङ्गामा मूर्ति खोप्ने सीप हामीसँग छ । तर, ती सीप जान्नेका छोरानाति पुस्ता त्यो सीप अंगाल्न तयार छैन । किन छैन ? सोच्न अब निकै ढिला भइसकेको छ । जताततै मणि नै मणि छन् हाम्रा वरिपरि तर हामी भिल्ल हुँदै गएका छौं । त्यसैले हाम्रा सामु प्रश्न छ- कहिले चिन्ने हामीले ती मणि ?
र जाँदाजाँदै , घुर्मैलो एक साँझ दुई प्रौढ अमेरिकी पसलमा आए । एकजना अलि फरासिला, एकजना कट्टर अमेरिकी जसलाई अमेरिकामा रेड नेक भनिन्छ, डोनाल्ड ट्रम्पको जीतको धङधङी अझै नओर्लिएको भाव अनुहारमा प्रष्टै । मिजासिला चाहि गणेशको मूर्तिमा चासो राख्दै थिए र सोधे- 'यसको अर्थ के हो ?' मैले रेडिमेड जवाफ दिए- गुड लक एण्ड प्रस्पेरेटी अर्थात् भाग्य अनि समृद्धि ।' रेड नेकले कुम उचाल्दै भन्यो- 'वी आर अलरेडी प्रस्परस । गुडलक, यस एभ्री वडी निड्स दयाट ।' अर्थात हामी समृद्ध छँदैछौ तर असल भाग्यको चाहना त सबैलाई हुन्छ । हो, त्यही गुडलक दिलाउने भगवान हामी कहाँ छन् है, हेर्न आओ अथवा मूर्ति किनेर लग । भन्ने विश्वास दिलाउन चाहिँ अब ढिला नगर्ने कि ?
यो पनि हेर्नुहोस्