अमेरिकाको न्युयोर्कमा चल्यो गोली : एक मारिए, ११ घाइते

न्युयोर्कको ब्रुकलिनस्थित एक पार्क : गोलीबारीपछिको दृश्य । तस्बिर : सीएनएन

कहिलै रात नपर्ने अमेरिकाको न्युयोर्क सहरमा शनिबार राति गोली चल्दा कम्तीमा पनि एकजनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।  ब्रुकलिनको एक पार्कमा भएको  कार्यक्रममा स्थानीय समयअनुसार राति ११ बजे भएको घटनामा घाइते भएका एकजना ३८ वर्षीय युवकको मृत्यु भएको हो ।

न्युयोर्कका मेयर बिल डे ब्लासियोले घटना भएको पुष्टि गर्दै दु:ख व्यक्त गरेका छन् । उनले आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै आक्रमणले शान्त छिमेकीको कार्यक्रमलाई प्रभावित बनाएको बताए । प्रशासनले घटनास्थल वरपरको हतियार नियन्त्रणमा लिएको र अनुसन्धान अघि बढाएको बताउँदै उनले भने-  न्युयोर्कको शान्ति कायम राख्न र न्युयोर्कबासीको जीवन रक्षाका लागि कुनै कसर बाँकि राखिने छैन ।

न्युयोर्क प्रहरीले अन्य केही पनि गोली लागी घाइते भएकाले उनीहरूको उपचार भइराखेको बताएको छ । घाइतेमध्ये केही गम्भीररूपमा चोटग्रस्त भएकाले मृतकको संख्या बढ्नसक्ने पनि उसले बताएको छ । 

यो समाचार तयार पार्दासम्म प्रहरीले घटनामा संलग्‍न भएको आरोपमा अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । 

 

प्रकाशित मिति: : 2019-07-28 23:59:46

प्रतिकृया दिनुहोस्