तपाईंहरु एउटा भ्रममा के नरहनुस् भने मूलधारको नेपाली पत्रकारिताले प्रवासबाट हुने नेपाली पत्रकारितालाई कसरी हेरिरहेको छ भन्ने तपाईं सोध्दै हुनुहुन्छ भने मैले एकदम राम्रो मानिरहनु भएको छ र तपाईंहरुबाट योगदान खोजिरहेको छ भनेर भने भनें त्यो झुठो हुन्छ।
म झुठो कुरो बोल्न सक्दिन। सत्य कुरा के हो भन्नुहुन्छ भने यो कसैलाई चासो छैन। मेनल्याण्डबाट जति पनि अखबारहरु निस्किन्छन्, सम्पादकहरुको, सरकारको चासो तपाईंले देख्नुभएको छ? गोकुल बास्कोटाले ल नेपालीपोष्टले यस्तो लेखेछ, सन्जयले यस्तो लेखेछ अथवा राजेशले यस्तो लेखेछ भनेर कसैले लेखेको तपाईंले सुन्नुभएको छ?
केही असरै परेको छैन। हामीले कस्तो किसिमको पत्रकारिता गरिरहेका छौं भन्ने कुरा यसबाट नैं प्रष्ट हुन्छ। सत्य कुरा के हो भने यो विजयले भनेजस्तो आत्मरतिमैं गरिरहेका छौं। हामीले आत्मरतिमैं गरिहेका छौं। यसलाई व्यापक बनाउन सकिरहेका छैनौं। व्यापक नबनेसम्म र यसको विस्तार नगरेसम्म मूलधारको नेपाली पत्रकारिता, मूलधारको नेपाली सञ्चारनीतिले र नेपाली सरकारले अमेरिकाको नेपाली पत्रकारितालाई छुँदैन।
त्यतिबेला छुन्छ जब एनआरएनको चुनाव आउँछ, जब नेपालबाट विदेशमा बन्ने विभिन्न पार्टीका कमिटीलाई दर्शनबक्स दिनलाई नेताहरु आउँछन्, त्यतिबेला समाचार बन्छ। अघिपछि बन्दैन। सत्यकुरा हो यो। तपाईंहरु नअल्मलिनु होला। हामी यति मात्रै काम गर्छौं त भनेर सञ्जय फेरि झगडा गर्न आउला।
आउनुभो र जानुभो भन्दा बाहेक अरु इन्टरेस्टिंग कुरा अरु केही हुँदैन। उहाँले यस्तो भन्नु भो। एउटा इन्टरेस्टिंग न्यूज आयो अमेरिकाबाट। त्यो न्यूजलाई पनि कहाँबाट ओरिजिनेट गराए भने काठमाडौंबाटै गराए। त्यो इन्टरेस्टिंग न्यूज थियो। त्यसमा राजदूत अर्जुन कार्कीले प्रचण्डजीलाई श्रीमतीको उपचारको क्रममा आउनुभएको बेला लुकाउँदै लगेको समाचार थियो।यो हाल छ पत्रकारिताको।यस्तोमा मैंले के लेखें, फलानोले के लेख्यो, ढिस्कानोले के लेख्यो भन्ने कुरै छैन। अब राजेश(मिश्र)ले जुन इस्यू पाएको थियो बोल्नका लागि आचारसंहिताको, त्यसमा म राजेशसँग सहमत छु।
उसको पक्षमैं लाग्छु। किनभने म आफैं पनि आचारसंहिता हामी आफैंले बनाउनुपर्छ भन्ने मान्छे हो। नेपाल पत्रकार महासंघको आचारसंहिता हामी आफैंले बनाएका हौं। मेरो सभापतित्वकालमा प्रेस काउन्सिलसँग मिलेर नेपाल पत्रकार महासंघले आचारसंहिता जारी गरेको थियो। त्यो एउटा ऐतिहासिक कुरो थियो। तर त्यो कसरी खण्डित भो, कसरी भंग भो मैंले थाहा पाउँन सकिन। कसको स्वार्थमा त्यो आचारसंहिता प्रेस काउन्सिलले लिएर गयो र प्रेस काउन्सिल कसरी त्यो आचारसंहितामार्फत् बलियो हुँदै गयो भन्ने कुरा यो अर्को कथा हो। अर्को कथाको खोजी अब तपाईंहरुले नैं गर्नुहोस्।
पत्रकारिता गर्नु छ, गरिब नेपालीको पक्षमा। लेख्नु छ उनीहरुको पक्षमा।बोल्नु पर्छ उनीहरुको पक्षमा अनि भन्ने चाहिं निस्पक्ष हुनुपर्छ रे पत्रकारिता। पत्रकारिता दुनियाँमा कहीँ पनि निस्पक्ष भएको देख्नु भएको छ तपाईंले? भियतनाम युद्धको बेलामा अमेरिकी प्रेस कहिल्यै निस्पक्ष भयो?न्युयोर्क टाइम्स कहिल्यै निस्पक्ष भयो? कहिल्यै पनि भएन।
निस्पक्ष हुनुपर्ने बेलामा त भयो नि। बेलाबेलामा राम्रो राम्रो समाचार छापेर हामी अमेरिकनहरुले यति अन्याय गरेका रहेछौं भनेर पनि लेख्यो।तर, सामान्यत: जनताप्रति सचेत हुने पत्रकार कहिल्यै पनि निस्पक्ष हुन सक्दैन। जनताको पक्ष लिएकै हुन्छ, जनताको पक्ष।सरकारले जनताको पक्ष लिने पत्रकारलाई सहनैं पर्छ।र, अहिले सहिराखेका छन्। धेरै पत्रकारहरु ट्रम्पको विरोधमा छन्। र, मनपराउने जनताले पनि अहिले त्यो दवावमा पर्नुपरेको छ। त्यसकारणले यो त्यो नैं कुरा हो।
हामीले अहिले अमेरिकामा बसेर नेपालमा के के भइरहेको छ भनेर अनुसन्धान गर्न सक्दैनौं। हामीकहाँ भुईंचालो गयो २०७२ साल वैसाख १२ गते। भुइँचालोले ध्वस्त पारेको हाम्रा सांस्कृतिक सम्पदाहरु एउटा पनि राम्रोसित बनेका छैनन्।
सबभन्दा ठूलो उदाहरण रानीपोखरी। रानीपोखरी अब सुक्ने हो कि त्यत्तिकै धुलोको पोखरी बन्ने हो भन्ने कुरामा हामी अहिलेसम्म विश्वस्त हुन सकेका छैनौं। अब आउने वर्षाको पानीले रानीपोखरी भरिन्छ भनेर कसैले सोचेको छ भने त्यो महापुरुषलाई नमस्कार गर्ने बाहेक अरु केही गर्न सक्दैनौं। यस्तो त दूर्दशा छ।
भएको एउटा खुलामञ्च थियो जहाँ पचास हजार मान्छे अट्थे।नेताहरु गएर भाषण सुनाउँथे। आफ्ना कुरा राख्थे। जनताले पनि क्रस क्वेश्चन गर्थे। त्यो एउटा ठाउँ पनि अब बेच्ने र महानगरपालिकालाई चन्दा उठाउने कर्ममा लगाइयो। यस्तो देशमा हामी कहाँबाट शुरु गर्ने भनेर हामी आफैं सोचौं। अमेरिकामा बस्ने नेपाली पत्रकारले पनि सोचौं, नेपालमा बस्ने नेपाली पत्रकारले पनि सोचौं।
तपाईंहरुले यहाँ गर्नुपर्ने कुरा चाहिं के हो भने तपाईंहरुले हामीलाई इस्यूजहरु पठाइ दिनुस्। इस्यूजहरु तपाईंहरुले उठाइ दिनुस जस्तो कि टेक्नोलोजीका इस्यूजहरु।अरु यहाँ हरेक दिन यहाँ परिवर्तनहरु भइराखेको हुन्छ। मास्टहेड परिवर्तन भइराखेको हुन्छ। हामीकहाँ गोरखापत्रको मास्टहेड परिवर्तन गर्नै हुन्न। किनभने त्यो देवशमसेरले स्थापना गरेको भन्ने विश्वास भएको देशमा कसरी अखबारहरु निक्लिन्छन्।
कसरी रंगीन हुन्छन्, कसरी पाठकको मनलाई त्यसले आकर्षित गर्छ र तान्छ भन्ने कुरा हामीले देखाउनुपर्छ। त्यो देखाउन तपाईंहरुले पुलको काम गर्दिनुस्।नयाँ विचारहरु र नयाँ आचारहरु कसरी आइराखेका छन् र नेपालमा त्यो कसरी बसाल्नुपर्छ भन्ने कुरामा अलिकति ध्यान दिनुभयो भने काम लाग्छ। किनभने नयाँ आउने पुस्ताले पनि त्यस्तो कुरा खोज्छ।
किन हलिउडका हिजोका सुपरहिट गीतहरु आज फेरि सुपरहिट हुँदैछन्? यो पनि एउटा ठूलो स्टोरी हुन सक्छ। अहिले यहाँबाट मिटूको अभियान चल्यो संसारभर । तपाईंहरुले अलिकति मद्दत गर्नुभएको भए नेपालका महिलालाई धेरै फाइदा हुन्थ्यो। मिटूका स्टोरीको उद्गम उतारेर पठाइदिनुभएको भए, पराल थुपार्दिनुभएको भए आगो लगाउने त हामी छँदै थियौं नि। हामीलाई त पराल पठाइदिनुस्, आगो लगाउने हामी छँदै छौं नि। त्यसकारण तपाईंहरु हामीलाई पराल पठाइदिनुस्।
गिरिशले अघि मलाई भन्यो, अमेरिकामा नेपाली पत्रकारिता २००१ सालदेखि शुरु भएको रहेछ। १९ वर्ष भएछ यो शुरु भएको। १९ वर्षको पठ्ठोले के नैं काम गर्यो र?त्यो पनि यस्तो संकुचित दिमाग भएको ठाउँमा। हामीले गर्न सक्ने कुराहरु के हो त्यो गरौं र गर्न नसक्ने के हो त्यो नगरौं।
नेपालमा सबभन्दा बढी प्रेस स्वतन्त्रता संकटमा परिरहेको छ। मैंले फूलझडी लगाएर भनेको पनि होइन, मैंले डर देखाएको पनि होइन। यो सत्य कुरा हो।विगत एक वर्षदेखि सरकारले नेपालको प्रेसलाई दायाँबायाँ, तलमाथि सबैतिरबाट कस्नेथुन्ने प्रयत्न गरिरहेको छ। अहिलेसम्म त हामी छटपटाएर निस्किइरहेका छौं। अब घेरा धेरै साँघुरो हुँदै गएको छ।
उनीहरुले हामीलाई कस्दै नियन्त्रित गर्दै गइरहेका छन्। साइबर कानुनको नाममा प्रेससम्बन्धी आचारसंहिता र नियमहरु परिवर्तन हुँदैछन्। प्रेस काउन्सिलजस्तो अर्धन्यायिक निकायलाई सञ्चार मन्त्रालयको एउटा विभागजस्तो बनाइदिएको छ। कहाँ गएर सत्यको गुहार माग्ने हो त्यो थाहा छैन?
अदालतले आज एउटा आदेश दिन्छ, भोली फेरि त्यो आदेशलाई उलंघन गरेर अर्कै बनाइदिन्छ।अर्कै किसिमको हावा चलिरहेको छ।तपाईंहरुले त्यतातिर सजग हुनुपर्छ र मातृभूमिमा स्थापित लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउन तपाईंहरु के गर्नसक्नुहुन्छ, तपाईंहरु त्यतातिर ध्यान दिनुहोस्।
पैसा-सैसा भन्ने त्यस्तै हो। अमेरिकामा बसेर तपाईंहरुले हामीभन्दा दश रुपैयाँ बढी कमाउनुभएको छ। त्यसको पाँच रुपैयाँ पत्रकारितामा हाल्नुस्, तपाईंको खेर जाँदैन। हामीले ऋण लिएर चलाउनुभन्दा तपाईंहरुले कमाएको पैसा हाल्नु राम्रो हुन्छ। पाँचभन्दा बढी चाहिं नहाल्नु। नेपाली पत्रकारिताको विकासमा साथीहरुले कदम चाल्नुपर्छ भनेर एकपटक फेरि आव्हान गर्दछु।
(वरिष्ठ पत्रकार किशोर नेपालले डालस, टेक्सासमा हालै आयोजित नेपाल अमेरिका पत्रकार संघ (नेजा)को १३ औं वार्षिक साधारण सभामा दिनुभएको मन्तव्यको सम्पादित अंश)
प्रस्तुतिः दिनेश कार्की