अमेरिकामा बाइडेनको राष्ट्रपति उम्मेद्वारी : डेमोक्रेटिक पार्टीका २०औं प्रतिस्पर्धी

२०२० को राष्ट्रपतिका लागि डेमोक्रेटिक आकांक्षी बाइडेन : ढिलो तर दुरूस्तै । तस्वीर : फाइल

अमेरिकी पूर्वउपराष्ट्रपति जो बाइडन पनि सन् २०२० को राष्ट्रपतिको चुनावी मैदानमा उत्रने भएका छन्। बराक ओबामा राष्ट्रपति हुदाँका उपराष्ट्रपति बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेद्वारी जित्नका लागि प्राइमरीमा होमिदैछन्। उनको उम्मेद्वारीको औपचारिक घोषणा भने विहीबार मात्र गरिने अमेरिकी मुलधारका सञ्चार माध्यमले जनाएका छन्। 

सन् २०१६ कै राष्ट्रपतिको उम्मेद्वारी दिने चर्चामा रहेका अमेरिकी भेट्रन राजनीतिज्ञ बाइडेनले अन्तत: त्यतिबेलाकी डेमोक्रेटिक संस्थापन उम्मेद्वार हिलारी क्लिन्टनलाई सघाएका थिए।यसपाली उम्मेद्वार हुने चर्चा चले पनि उनले त्यसको पुष्टि गरेका थिएनन् ।

मंगलबार भने ७६ वर्षीय बाइडेनले आफ्नो उम्मेद्वारीको पुष्टी गरेका छन्। उनीभन्दा एक वर्ष बढीका ७७ वर्षीय बर्नी सान्डर्स पनि डेमोक्रेटिक उम्मेद्वारी जित्न मैदानमा छन्। साण्डर्स २०१६ मा डेमोक्रेटिक उम्मेद्वारीका लागि अन्तिम समयसम्म पनि हिलारीसँग प्रतिस्पर्धामा थिए। 

यसअघघि नै डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेद्वारी जित्न १९ जनाले उम्मेद्वारी घोषणा गरेर चुनावी क्याम्पेन चलाइरहेका छन्। बाइडेन २०औं राष्ट्रपति उम्मेद्वारका आकांक्षी भएका छन्। 

बाइड्नको उम्मेद्वारी घोषणासँग डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारीका लागि रोचक भिडन्त बढेको छ। अहिले पनि उनी डेमोक्रेटिक उम्मेद्वारीका लागि सबैभन्दा धेरै रूचाइएको नाममा परेको जनमत सर्भेक्षण बाहिरिएका छन्। 

अमेरिकी राजनीतिक पण्डितहरूले बाइडेनले मात्र ट्रम्पलाई हराउन सक्ने विश्लेषण गरेर डेमोक्रेटिक संस्थापनले उनलाई उम्मेद्वारी दिन लगाएको हुन सक्ने आँकलन गरेका छन्। बर्नी साण्डर्स ग्रासरूटमा लोकप्रिय भए पनि अहिले नै समाजवादी सोच भएका बर्नीलाई अमेरिकी जनताले राष्ट्रपतिमा जिताउँला भन्ने विश्वास गरिएको छैन।अल्ट्रा राइटिष्ट ट्रम्पसँग प्रतिस्पर्धा गर्न सेन्ट्रिष्ट डेमोक्रेट बाइडेन नै सबैभन्ला उत्तम विकल्प हुने अनुमान गरिएको छ।

 

प्रकाशित मिति: : 2019-04-24 01:31:17

प्रतिकृया दिनुहोस्