भर्जिनियाको हर्नडनमा 'नेप्लिज अमेरिकन हेरिटेज डे' घोषणा: स्वागतमा नेपालीले मनाए उत्सव

तस्वीर सौजन्य: ईनेप्लिज

अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरले अबदेखि हरेक साल अप्रिल महिनाको तेश्रो साताको सप्ताहान्तमा नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने भएको छ। सन् २०१८ को चुनावमा नेपाली मूलका युवा प्रदीप ढकाल हर्नडन सहरको परिषद सदस्यमा निर्वाचित भएपछि हालै यस सहरले नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने निर्णय गरेको हो। त्यही निर्णयको स्वागत गर्दै विक्रम सम्ब्वत् २०७६को नयाँ वर्ष मनाउँन स्थानीय नेपाली डायस्पोराको आदर्श नेपाली समाज र एनआरएनए भर्जिनिया च्याप्टरले संयुक्त रूपमा एक खुशियाली कार्यक्रमको आयोजना गरेका छन्। 

कार्यक्रममा हर्नडन सहरका काउन्सिमम्यान प्रदीप ढकालले  नेप्लिज अमेरिकन हेरिटेज डे घोषणापत्र पढेर सुनाएपछि आदर्श नेपाली समाजका अध्यक्ष अर्जुन सिग्देल एवं एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुबेदीलाई हस्तान्तरण गरेका थिए।

नेपाल झल्काउने विविध झॉकी, लाखे नाच, भेषभूषाको प्रदर्शनी तथा सॉस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा आदर्श नेपाली समाजद्वारा सञ्चालित नेपाली स्कुलका बालबालिकाले दुवै देशका राष्ट्रिय गान गर्नुका साथै आकर्षक नृत्य पनि पस्केका थिए। उनीहरूले नेपाली पहिरनका साथ सभास्थलमा मार्चपास गरेका थिए।कार्यक्रममा विशेष आकर्षणका रूपमा श्रीओम कीर्तन मण्डलीले लोप हुँदै गएको मौेलिक नेपाली संगिनी गीत र नृत्य प्रस्तुत गरेको थियो।भर्जिनियाको मनासस र सेन्ट्रिभिल एवं जर्ज मेसन युनिभर्सिटीमा अध्ययरत् नेपाली मूलका विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।

समारोहमा नेपालका लागि पूर्वराजदुत स्कट डेलेसी तथा वरिष्ठ लोकगायक प्रेमराजा महतले आआफ्नो क्षेत्रबाट पुर्याएको योगदानको लागि सम्मान गरिएको थियो।उनीहरूलाई आदर्श नेपाली समाजका अध्यक्ष अर्जुन सिग्देल तथा एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुबेदीले सम्मानपत्र प्रदान गरेका थिए भने समाजका सल्लाहकार परशुराम भण्डारीले खादा लगाई सम्मान प्रकट गरेका थिए ।

समारोहलाई सम्मानित व्यक्तित्वद्वय डेलेसी र महतका अतिरिक्त मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट ह्यारी भण्डारी र हर्नडन नगर परिषद सदस्स प्रदीप ढकालले सम्वोधन गरेका थिए।

नेपाल डे तथा नयां वर्षको कार्यक्रममा सहभागी हुन भर्जिनियाका डेलिगेट इब्राहिम शमिराह, फेयरफ्याक्स काउनटीका ड्रान्सभिल सुपरभाइजर जन फस्ट, फेयरफ्याक्स हर्नडनका नगर उपप्रमुख ओलेम शिला, काउन्टी सरिफ स्टेसी किन्केट काउन्सिल सदस्यहरू, हर्नडनका नगरका वर्तमान र पूर्व पदाधिकारीहरु, अमेरिकन मूलधारको राजनीतिमा प्रवेश गरी मेरिल्याण्ड राज्यको डेलिगेट निर्वाचित भएका ह्यारी भण्डारी, भर्जिनियाकै हे मार्केट शहरमा गत वर्ष नगर परिषद सदस्य निर्वाचित मधु पन्थी, नेपाली समुदायका विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा स्थानीय जनसमुदायको बाक्लो उपस्थिति थियो।

नेपाली नयाँ वर्षको अवसरसमेत पारेर आयोजित हेरिटेज डे कार्यक्रमले यस क्षेत्रमा नेपाल चिनाउन योगदान पुगेको विश्वास गरिएको छ। भर्जिनिया यसरी सरकारी स्तरमा नेप्लिज अमेरिकन हेरिटेज डेको घोषणा भएको यो पहिलो पटक हो।

 

 

 

प्रकाशित मिति: : 2019-04-23 18:03:42

प्रतिकृया दिनुहोस्