अमेरिकामा किनेको नेपाली राजदूत निबासको भाउमा १० करोड ६६ लाखको गिरावट

फोटो: रियल्टर्स

अमेरिकाका लागि नेपाली राजदूतका लागि किनिएको राजदूत निबासको मूल्य नौ महिनामा नौलाख ५४ हजार सातसय ४१ डलर घटेको छ।यो समाचार तयार पारेको मिति अप्रिल १७ का लागि नेपाल राष्ट्र वैंकले कायम गरेको अमेरिकी डलरको भाउमा यो रकम १० करोड ६६ लाख १५ हजार नौसय २८ रूपैया हुन्छ।

गत वर्ष जुलाई १६ मा ६८ लाख अमेरिकी डलरमा किनिएको राजदूत निबासको मुल्य अहिले घटेर ५८ लाख ४५ हजार दुईसय ५९ कायम भएको छ।यो मुल्य अमेरिकी रियल स्टेट बजारले प्रक्षेपण गरेको पछिल्लो मूलय हो।

सात बेडरूम र नौ बाथरूम, स्विमिङ पुल र बंकरसमेत भएको यो विलासी भवन अमेरिकाको राजधानी वासिङ्टन डीसीको भीआईपी क्षेत्रमा रहेको छ। २९११ युनिभर्सिटी टेरेस नर्थवेष्टमा सातहजार सात सय ७० वर्गफिटमा फैलिएको यो भवन सन् २००२ मा बनेको हो।

अमेरिकाका लागि नेपाली राजदूतलाई २७३०, ३४औै प्लेस नर्थवेष्टमा तीनहजार चारसय ८० बर्गफिटमा फैलिएको पाँच बेडरूम र ४.५ बाथरूम भएको भव्य राजदूत निबास छ। नयाआ राजदूत निबास किन्नु अगाडि मात्रै लाखौं डलर खर्च गरेर मर्मत गरिएको यो निबासको मुल्य यो समाचार तयार पारिरहेको बेला २० लाख ६१ हजार सातसय १४ अमेरिकी डलर छ। यति भव्य निबास हुँदाहुदै गरीव राष्ट्रका लागि ठुलो धनराशी खर्च गरेर किनिएको यो आलिशान राजदूत निबासको आवश्यकता, उपयोगिता र औचित्यलाई लिएर सुरूदखि नै विवाद छ। त्यति रकममा राजदूतावास भवन नै किन्नु औचित्यपूर्ण भएको विज्ञहरूले सुझाव दिएका थिए।

निबास खरिद गर्नु पहिले खरिद गर्नुपर्ने कारण, भविष्यमा सिर्जना हुने वित्तीय भार, भैरहेका भवनहरूको उपयोग, नियमित मर्मत खर्च आदिको जवाफ दिन परराष्ट्र मन्त्रालयले पत्र पठाए पनि राजदूत डा. अर्जुनकुमार कार्कीले त्यसको कुनै जवाफ दिएनन्। उल्टै उनले बोलपत्र वा आशयपत्र आव्हान वा कुनै प्रकारको प्रतिस्पर्धा नै नगरी एक ब्रोकर संस्थामार्फत भवन किने र ब्रोकरलाई सिधै भुक्तानी गरे।

राजदूत कार्कीको निहित स्वार्थमा किनिएको भवनमा कमिशन मात्रै पनि करोडौं हुने बताइएको छ। त्यसमाथि पनि त्यो भवनको मुल्य ६८ लाख डलर हुनै नसक्ने बताइन्छ। बिना प्रतिस्पर्धा अधिक मूल्य गराएर ब्रोकरमार्फत राजदूत निबास किनिएको त्यतिबेलै चर्चा भएको थियो।

अहिले भवनको मुल्य नौमहिना झण्डै एक मिलियन डलर घटेबाट पनि त्यतिबेला त्यो घरलाई बढी नै दाम हालिएको प्रमाणित हुन्छ।जबकि त्यसयता अमेरिकी रियल स्टेट बजारमा मन्दी आएको छैन। त्यही क्षेत्रका अन्य घरको मुल्य पनि औसतमा १० प्रतिशतले बढेको देखिन्छ।

प्रकाशित मिति: : 2019-04-17 07:53:54

प्रतिकृया दिनुहोस्