सिड्नीमा एनआरएन भवनबारे कुरा उठ्दै: भवनले भने- 'कमजारी भयो', शेषले मुख खोल्लान् त ?

अष्ट्रेलियाको सिड्नीमा जारी एनआरएनको तेस्रो  ओसिनिया क्षेत्रीय बैठकमा स्वामित्व संकटमा परेको एनआरएनको जग्गा र भवनको बारेमा कुरा उठ्ने भएको छ। 

संसारभर छरिएर रहेका एनआरएनको २५ करोडको नीलो पसिनाले सिञ्चित एनआरएन भवन र त्यसले ओगटेको जग्गा अहिले सरकारले रोक्का गरेको छ। यसअघि नै स्वामित्व विवादसम्बन्धी सर्वाेच्च अदालतमा परेको अर्को एक मुद्दा पनि विचाराधीन अवस्थामा छ। मुद्दा परेकै बेला भविष्यमा एनआरएनको स्वामित्व नरहे भवनको स्वामित्व पनि स्वत: नरहने सर्तमा एनआरएन भवन बनाइएको छ। 

एनआरएनको लागि जग्गा किनेर भवन बनाउने एक सूत्रीय कार्यक्रम लिएर पहिलो कार्यकालका लागि चुनाव जितेका तत्कालिन अध्यक्ष शेष घलेकै जोडबलमा जग्गा किन्ने र भवन बनाउने काम भएको थिय। त्यसका लागि उनले अरूको कुरा नसुनी भाटभटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरूङको कुरा सुनेका थिए।गुरुङ ललिता निवास जग्गा प्रकरणमा भूमाफियासँग मिलेर जग्गा कारोबारमा संलग्न रहेको देखिएको छ।  

जग्गा किन्नका लागि समिति बनाइए पनि त्यो प्रक्रिया पूरा गर्नका लागि मात्र बनाइएको एनआरएनका तत्कालिन कार्यसमितिका एक पदाधिकारीले ब्रेक एन लिंक्सलाई बताए। उनका अनुसार जग्गा किन्ने र भवन बनाउनेलगायतका क्रियाकलापमा तत्कालिन अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट र उत्तर अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा नै निर्याणक थिए।गत निर्वाचनमा उपाध्यक्षको उम्मेद्वारी दिएका लामा पराजित भएका थिए भने अध्यक्ष शेष घले दुई कार्यकालपछि बाहिरिएका थिए। उपाध्यक्ष भवन भट्ट भने अहिले अध्यक्ष रहेका छन्। 

एनआरएन अध्यक्ष भवन भट्टले नियतबस नभएको तर कमजोरी भएको भनेर मुख खोलेका छन्।उनले जग्गा बकाइदा कानुनी रूपमा पास गरेको बताउँदै त्यसमा अरू के थियो, त्यो नेपाल सरकारले नै जान्ने कुरा भएको बताए। यदि जग्गाको स्वामित्व नै नरहने परिस्थिति आएमा आफूहरू अन्यायमा पर्ने बताए।यदि त्यस्तो परिस्थिति नै आयो भने पनि यसबारेमा नेपाल सरकारले संसारभरका एनआरएनको भावनालाई ध्यानमा राखेर निर्णय गर्ने अपेक्षा पनि उनले लिएका छन्।

जग्गा खरिद तथा भवन निर्माणमा निर्णायक भूमिका रहेका तत्कालिन अध्यक्ष शेष घलेले भने मुख खोलेका छैनन्। उनी बरियतामा धनी रहेको अस्ट्रेलियामै भैरहेको एनआरएनको यत्रो ठुलो जमघटमा उनले आफैं मुख खोल्छन् वा उनलाई मुख खोल्न लगाइन्छ लगाइदैन ? संसारभरका एनआरएनको ध्यान यतिबेला सिड्नीतिर तानिएको छ। 

प्रकाशित मिति: : 2019-05-12 01:41:05

प्रतिकृया दिनुहोस्