अस्ट्रेलियामा लिबरलले चुनाव जिते नेपाली समुदायलाई दश लाख डलर दिने घोषणा

गैरआवासीय नेपाली संघ तेस्रो ओसिनिया क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै लिबरल नेता डेभिड कोलम्यान । तस्बिर : बीएल

अस्ट्रेलियामा सत्तारूढ लिबरल पार्टीले सरकार बनाएमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरिएको छ। यस्तो घोषणा सत्तारूढ लिबरल पार्टीका एक प्रभावशाली नेता तथा अध्यागमन मन्त्री डेभिड कोलम्यानले गरेका हुन्। उनले गैरआवासीय नेपाली संघ तेस्रो ओसिनिया क्षेत्रीय बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा यस्तो उधारो सहयोगको घोषणा गरेका हुन्। 

कोलम्यानले पछिल्लो केही वर्षमा नेपालीसँग मिलेर काम गरिरहेको जानकारी दिदै उनीहरू अष्ट्रेलियाको लागि महत्वपूर्ण अङ्ग रहेको बताए। उनले सत्तारुढ मोरिसन सरकार अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्कृति, इतिहास तथा रीतिरिवाजको जगेर्ना तथा उत्थान गर्न प्रतिवद्ध रहेको बताउँदै त्यसका लागि नेपाली सामुदायिक भवन निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको बताए।  

यो सहयोग रकम अस्ट्रेलियाकै सबैभन्दा पुरानो नपाली संस्था नेप्लिज अष्ट्रेलियन एशोसिएसन (एनएए)मार्फत् उपलब्ध गराइने उनले जानकारी दिए। यसअघि केही महिना अघि नै अस्ट्रेलियाको संद्दीय सरकारले नेप्लिज अष्ट्रेलियन एशोसिएसनलाई एक पत्र लेखी सहयोग अभिरूचि पत्र मागेको थियो। एशोसियसनले नेपाली सामुदायिक भवन निर्माणका लागि सहयोगको अभिरूचिपत्र पठाएको संस्थाका एक पदाधिकारीले बताएका थिए।

कोलम्यानको यो घोषणालाई यहाँका धेरै नेपालीले स्वागत गरे पनि केहीले यसलाई चुनावी हत्कण्डा भएको आरोप लगाए।आरोप लगाउँने पक्षको भनाइ थियो, यो नेपालीमूलका अष्ट्रेलियाइको मत प्रभावित गराउने उपाय हो। यो त नेपालको जस्तै आश्वासनको राजनीति भयो। 

स्वागत गर्ने पक्षले भने यसबाट यहाँ रहेको नेपाली समुदायले अस्ट्रेलियाको मूलधारको राजनीतिमा थप मान्यता पाएको बताए। उनीहरूले कोलम्यानको पक्षमा तर्क गर्दै भने- 'सरकार बनाए त दिने हो नि नबनाए त कसरी दिने र ? त्यसैले यसलाई चुनावी हत्कण्डा भन्न मिल्दैन। ' 

 

प्रकाशित मिति: : 2019-05-11 23:20:42

प्रतिकृया दिनुहोस्