बेलायतमा कन्टेनरभित्र भेटिएका ३९ मृतक सबै भियतनामी

तस्बिरः एजेन्सी

प्रहरीले बेलायतको एसेक्समा रेफ्रिजेरेटरयुक्त कन्टेनर भित्र भेटिएका ३९ जना मृतक सबै भियतानामी नागरिक भएको बताएको छ । मृतक मध्ये एक नाबालिक छन्। प्रहरीका अनुसार बुल्गेरियाबाट लन्डन हिँडेको कन्टेनर १९ अक्टुबरमा वाटरग्लाडे औधोगिक पार्कमा पाकिङ गरेको अवस्थामा फेला परेको थियो।

सुरुमा ती शवहरु चिनियाँ नागरिकको भएको आशंका गरिएको थियो ।प्रहरीले आफूहरुले घटनासम्बन्धमा ‘भियतनाम र बेलायतमा रहेका परिवारसँग सिधा सम्पर्कमा गरिरहेको’ बताएको छ । त्यस्तै भियतनामी सरकारसँग पनि कुराकानी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

आफ्ना परिवार सदस्य उक्त कन्टेनरमा भएको डरमा कयौं भियतनामी परिवार प्रहरीकहाँ आइरहेका छन् । २६ वर्षीया फाम थि ट्रा माइले मंगालबार राती आफ्नो परिवारलाई पठाएको म्यासेजमा आफ्नो ‘विदेश भ्रमण असफल भएको’ बताएकी थिइन् ।

मृत्युको कारण बुझ्नको लागि ३१ पुरुष र आठ महिलाको शवको पोस्टमार्टम जाँच भइरहेको छ ।

एसेक्स प्रहरी विभागका सहायक चिफ कन्स्टेबल टीम स्मिथले लोरीको शवबारे भने ,‘अहिले हामी मृतकहरु भियतनामका नागरिक भएको विश्वासमा पुगेका छौं । हामी भियतनामी सरकारसँग सम्पर्कमा छौं ।’

उनले प्रहरीले कुनै पनि मृतकको पहिचान गर्न नसकेको पनि बताए । लण्डनस्थित भियतनामी दूतावासले आफूहरु ‘अत्यन्त मर्माहत’ भएको र मृतकका परिवारप्रति ‘हार्दिक श्रदान्जली’ व्यक्त गर्ने प्रतिक्रिया दिएको छ ।

‘प्रत्येक मृतकका पहिचान भियतनाम र संयुक्त अधिराज्यका अधिकारीले पुष्टि गरिसकेका छैनन्,’ दूतावासले भनेको छ ।

दूतावसले ‘मृतकका परिवारलाई सघाउनको लागि भियतनाम र संयुक्त अधिराज्यका सम्बद्ध अधिकारीहरुसँग नजिकमा रहेर समन्वय गर्ने र आवश्यक परे मृतकलाई तिनको परिवारसम्म पु¥याउन सहयोग गरिने’ बताएको छ ।

संयुक्त अधिराज्यमा बसोबास गर्ने भियतनामी समुदायको संगठन ‘भियतहोम’ले आफूले प्राप्त गरेको २० सम्भावित मृतकको तस्विर प्रहरीलाई हस्तान्तरण गरेको बताएको छ ।

यसअघि सन् २०१४ मा ३४ अफगान शिख डि–हाइड्रेशन, हाइपोथर्मिया र अक्सिजनको कमिका कारण शिपिङ कन्टेनरमा बेहोस फेला परेका थिए। यो घटनामा एक जनाको निधन भएको थियो।

जुन २००० मा डोवर शहरमा पनि ५८ चिनियाँ प्रवासी एउटा कन्टेनरमा मृत फेला परेका थिए।

प्रकाशित मिति: : 2019-11-02 11:51:20

प्रतिकृया दिनुहोस्