एकाबिहानै दुई भाले बास्यो भनेर फ्रान्समा फेरि अर्को तमासा मच्चिएको छ। फ्रान्सको ओत साम्भा क्षेत्रमा पर्ने साँ सिल्भेस्त भन्ने ठाउँबाट यो तमासाको शुरुवात भएको हो। उक्त क्षेत्रका कुखुरापालक किसान दानियल बोकीजका छिमेकीले दुई भाले कुखुरा बासेर सुत्न नपाएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए।
कुखुरा धनी दानियल बोकीजलाई अदालतले हालसालै तीन हजार युरो जरीवाना र एक हजार दुई सय यूरो क्षतिपूर्ति तिराएको छ। अदालती यो फैसला फ्रान्स भरी व्यापक चर्चामा छ र यसको पक्षमा कम र बिपक्षमा बढी मत बाँडिन थालेका छन्।
पशु अधिकारकर्मीहरूले लेखेका छन्, 'भालेको कामै बास्ने हो। त्यहीमाथि कुखुराको भाले फ्रान्सको राष्ट्रिय जनावर हो।'
यही घटनालाई लिएर अहिले दुई भाले जोगाउन इन्टरनेटबाट हस्ताक्षर अभियान संकलन गरिएको छ। हस्ताक्षर अभियान यति व्यापक र तिब्र छ कि, प्रत्येक सेकेन्डमा कसै न कसैले उनका भालेले बास्न पाउने पक्षमा मत जाहेर गरेका छन्।
फ्रान्समा यस्तै घटना जुलाई महिनाको शुरूमा शारन्त मारितिम भन्ने क्षेत्रमा पनि घटेको थियो । उ बेला कोरिन फसो भन्ने कुखुरा धनिलाई पनि त्यहाँको अदालतले जरीवना गरेको थियो। तर, पछि पशु अधिकारकर्मीले दवावमा अदालतले फैसला उल्टाएको थियो।
कुखुरापालक दानियल बोकीज भन्छन् , 'अदालती कानून सबैलाई बराबरी लागु हुन पर्दैन? मेरा भाले बास्न नपाउने किन ?'
त्यसैगरी दानियल बोकिज बस्ने शहरका नगरप्रमुख पियर फ्रोलिज पनि अदालतको यो निर्णय अचम्म पार्ने खालको भएको भन्दै बोकिजको समर्थनमा आएका छन्।
उनले ला पारिजियन पत्रिकाका लागि भनेका छन्, 'गाउँमा मानिसहरु बस्न आउने भनेकै जनावरको संसर्गमा रमाउन हो। शान्त मारितिम क्षेत्रका कुखुरका भाले बास्न पाउने निर्णय भइसकेको छ तर मेरो क्षेत्रका कुखुराका भालेहरु बास्न नपाउने निर्णय गर्न पाइन्छ ? यो त अन्यायी निर्णय हो।'
कुखुरा धनि बोकीजका अनुसार कुखुराको खोर उनका बाबूद्वारा सन् १९५६ मा निर्माण भएको हो। कुखुरा बासेर दुःख दिन थालेको भन्दै छिमेकीको गुनासो आएपछि एकाबिहानै छिमेकीलाई हल्ला नहोस भनेर कुखुराका खोरका झ्यालहरु थुन्ने गरेको बताएका छन्।
कुखुरा पालकले यति गरे पनि हल्ला कम्ती नभएको भन्दै छिमेकीले मुद्दा दायर गरेका थिए। पछि हल्लाखल्ला सम्बन्धि विज्ञले अनुसन्धान गर्दा उक्त घरमा फ्रान्सको सरकारले तोकेको मापदन्ड भन्दा बढी नै चर्को आवाज आएको उल्लेख गरेका छन्।
फ्रान्समा रात र दिउँसो दुवै समयमा सरकारले तोकेको मापदन्ड भन्दा बढी हल्ला गर्न नपाइने नियम छ। यो नियम पशुपालक र मानव दुवैमा उस्तै गरी लागू हुन्छ।