बेलायतको राजनीतिक संकट अरू गहिरिने संकेत मिलेको छ । संसदमा टोरी नेतृत्वको दक्षिणपन्थी गठबन्धनले बुहमत मात्र गुमाएको छैन, प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीति पनि संसदमा पराजित भएको छ ।
यस सँगै अक्टोबर ३१ अगावै युरोलियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिट प्रक्रिया लम्बिने भएको छ । तर, प्रधानमन्त्री बोरिस जोनसनले संसदले ब्रेक्जिटलाई लम्ब्याउन खोजे अक्टोबर १५ मै आमनिर्वाचन गराउने चेतावनी दिएका छन् ।
जोनसन बिनासहमति भए पनि अक्टोबर ३१ अगावै बेलायतलाई युरोपेली सङ्घ (ईयू) बाट बाहिर ल्याउने प्रतिवद्धताका साथ टोरी नेतृत्वमा आएका थिए ।
त्यही योजनाअनुसार उनले संसदमा ब्रेक्जिटसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । तर, उनकै पार्टीका केही वागी विधायकको समेत मतका कारण उनी त्यसमा पराजित भए । उनको पक्षमा ३०१ मत पर्यो भने विपक्षमा ३२८ मत ।
यो परिणामसँगै अब संसदले ब्रेक्जिट विलम्ब गर्न अनुरोध गर्न पाउने भएको छ । त्यसका लागि संसद्मा बुधबार नै छलफल गरिने भएको छ ।
तर, प्रधानमन्त्री जोनसनले भने यदि ब्रेक्जिटको समयसीमा अक्टोबर मसान्तबाट बढाउन आफूलाई बाध्य पारिए समयअगाडि नै संसदीय निर्वाचन घोषणा गर्ने चेतावनी दिइसकेका छन् ।
यसअघि नै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलिप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसनले संसद्मा बहुमत गुमाएका थिए । अब ६५० सदस्यीय ब्रिटिश संसद्मा कन्जरभेटिभ पार्टीको ३०९ र डेमोक्र्याटिक युनियन पार्टीको १० सांसदसहित जोनसनसँग अब ३१९ सांसदको समर्थन छ भने विपक्षी दलसँग ३२० सदस्य पुगेका छन् ।