गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा तिलक गैरे ८५१ मत प्राप्त गरी निर्वाचित भएका छन् । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको तर्फवाट उम्मेद्वार बनेको गैरेले नेकपा निकट प्रगतिशील समावेशी समूहका ईश्वर रिजाललाई पराजित गरेका हुन् । रिजालले ५५१ मत प्राप्त गरे ।
राजधानी लिस्वनमा आइतबार अगष्ट २५ मा सम्पन्न संघको सातौँ राष्ट्रिय अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि गैरेको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा, उपाध्यक्षद्वयमा अशोक गुरुङ र मच्छिन्द्र अर्याल, महासचिवमा हेमराज सुवेदी, कोषाध्यक्षमा विक्रमजङ्ग कुँवर युवा संयोजकमा दिनेश भण्डारी निर्वाचित भएका छन् । यसैगरी दुई आईसीसी सदस्यमा नारायणकाजी मगर र रविन अधिकारी निर्वाचित भए ।
महिला उपाध्यक्ष, दुई सचिव, एक महिला संयोजक, एक सह–कोषाध्यक्ष र १५ सदस्य भने यसअघि निर्विरोध भैसकेका थिए । जसअनुसार महिला उपाध्यक्षमा सीता श्रेष्ठ, दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल, सह–कोषाध्यक्षमा तिलक कँडेल र महिला संयोजकमा सुशीला थापा रहेका छन् । यसैगरी कार्यसमिति सदस्यमा निर्विरोध हुनेहरूमा गणेशदत्त शर्मा सुमन शर्मा चम्लागाईं, राजनप्रसाद ढुङ्गाना, दीपक खत्री, लक्ष्मी परियार, कल्पना कार्की, सम्झना अधिकारी पाण्डे, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, दीपेन्द्र सुवेदी, सविन धिताल, दिलबहादुर परियार र सन्तोष नेपाली रहेका छन् ।
लाजमर्दाे सहभागिता
पोर्चुगलमा नेपालीको संख्या दिनाहु बढ्दै गएको छ । आधिकारिक तथ्यांक नभए पनि यहाँ २५ हजारको हाराहारीमा नेपालीको बसोवास रहेको अनुमान गरिन्छ । यत्तिका धेरै नेपालीको बसोवास रहेको पोर्चुगलमा एनआरएनएको सदस्यता लिनेको संख्या भने २१ सय पुगेको छ । त्यो पनि निर्वाचन हुने वेलामा राजनितिक दल, विभीन्न संघ संस्थाहरुको पहलमा सदस्यता लिनेको संख्या बढेको हो ।पोर्चुगललमा एनआरएनएप्रतिको अविश्वासको कारण सदस्यता लिन नचाहेको प्रष्ट देखिन्छ ।
गएको आइतवार लिस्वनमा गज्जबको दृश्य देखियो । एकातिर एनआरएनएका अभियन्तालगायत राजनितिक दलका नेताहरू एनआरएनएको महत्व र यसले समाजमा पारेको प्रभावका वारेमा चर्चा गर्दै थिए भने अर्काेतिर सोही दिन निर्वाचन हुदै थियो । कूल दुई हजार १२८ सदस्य रहेको संघमा एक हजार ४ सय ७२ जनाले मात्र मतदान गरे ।
निर्वाचनको मौका छोपी नेपालदेखि आएका नेपाली कांग्रेसका नेता बीरबहादुर बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपालीपन र सेवाभावका आधारमा काम गर्न एनआरएनएलाई सुझाव दिए । उनले गैरआवासीय नेपालीको समस्या समाधानका लागि नेपाल सरकारले र पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन आग्रह गरे ।
त्यस्तै, संघका अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता मुद्दा र संघले गरिरहेका प्रयासबारे जानकारी दिए । उनले संघको नेतृत्वको लागि दाबी समेत गरे । तर उनीहरुले एनआरएनए पोर्चुगलमा सदस्यता बन्न नचाहने नेपालीको वारेमा चासो राखेनन् । मञ्च अगाडि ताली ठोक्न वसेका केही सीमित मानिसको तालीमै मख्ख भए ।
संख्याको आधारमा एनआरएनएको निर्वाचनमा उपस्थिति कत्तिको हुनुपर्ने विषयमा संघको विधानमा केही उल्लेख गरिएको छैन । संघका अन्तर्राष्ट्रिय परिषदका सहकोषाध्यक्ष सोम सापकोटाले मानि कत्ति संख्यामा उपस्थित भए भन्दा पनि एनआरएनएको उपस्थितिले अर्थ राख्ने बताए ।
निर्वाचन भएको करिव दुई वर्ष एनआरएनएको अत्तोपत्तो हुदैन । कहाँ छ भनी खोज्दै हिड्नु पर्छ । मेला महोत्वस,भेटघाट,शुभकामना आदानप्रदान कार्यक्रम वा अझै भनौ एयरपोर्टमा नेतालाई रातो, सुकिलो खादा ओढाउन यस्तै यस्तै अवसरमा भेटिन्छ एनआरएनए । विदेशिएका नेपालीको साझा संस्था हो एनआरएनए । तर, यो साझा संस्था बन्न सकेन आमचासोको विषय हो र अहिलेको यो निर्वाचनको सहभागिताले पजि त्यसैको पुष्टी गरेको हो ।