पोखराकी तारा गुरुङ सन् २०११ मा भविष्यको मिठो कल्पना बोक्दै संयुक्त अरब इमिरेट्स (युएई) मा घरेलु कामदारको रुपमा आइन्।
दुबईस्थित भारतीय व्यापारीको घरमा काम गर्ने क्रममा उनले आत्मीय व्यवहार पाइन्। त्यसैले उनले केही महिनाभित्रै आफ्नो श्रीमानलाई पनि आफू भएकै ठाउँमा रोजगारीका लागि बोलाइन्।
श्रीमानलाई रोजगारका लागि दुबई बोलाउँदा, उनलाई लागेको थियो– दुबै मिलेर काम गर्दा घरको स्थिति पनि सुध्रिने छ र छोरा–छोरीको भविष्य पनि उज्वल बन्ने छ।
उनले आफ्नो छोरा–छोरीलाई पोखराको राम्रो स्कुलमा भर्ना गर्ने सोच पनि बनाइसकेकी थिइन।
तर दुर्भाग्य! दुबईमा तीन महिना काम गरेका श्रीमान विभिन्न बहाना बनाउँदै नेपाल फर्किए। र, नेपालमा गुपचुप अर्की केटी च्यापेर बसे। उनको परिवार लथालिङ भयो।
आफ्नो श्रीमान एक्कासी सम्पर्कबिहिन बनेपछि तारा पुनः नेपाल फर्किइन्। श्रीमानको हर्कत देखेर उनलाई बज्रपात पर्यो। उनले तत्कालै श्रीमानसँग छोडपत्र गरिन् र दुई नाबालकको लालन–पालनको जिम्मा लिएर फेरि दुबई फर्किइन्।
दुबईमा ९ वर्ष भारतीय व्यापारीकै घरमा काम गरेर बिताएकी तारा अहिले सुखी र खुसी देखिन्छिन्।
उनका दुवै छोरा अध्ययनका लागि अस्ट्रेलिया पुगेका छन्। यति बेला उनी दुबईमा आफू जस्तै दुःख पाएका नेपाली युवतीहरूको उद्दारमा व्यस्त छिन्।
‘नसोध्नु, जीवनमा धेरै दुःख पाइयो। आफ्नै लोग्ने बैरी भयो। भगवानको कृपाले अहिले सबै राम्रो छ। समय कुर्नुपर्ने रहेछ,’ दुबईमा भेटिएकी ताराले ब्रेक एन लिंक्ससँग भनिन्, ‘मेरो त साहुजी पनि सहयोगी थिए। त्यसैले मेरो दुःख अलि हलुका भयो। म जस्ता थुप्रै दिदी–बहिनी होलान, जसले कसैको सहयोग बिना जीवन भोगिरहेका छन्।’
तारा सामान्य लेखपढ गर्न जान्ने आइमाई हुन्। पहिलो पल्ट युएई आउँदा भाषाका कारण थुप्रै चुनौति भोग्नु परेको थियो, उनले।
नेपालमा आफ्नो लालाबाला छोडेर हिडेकी तारा दुबईमा साहुको बच्चा हेरचाह गर्थिन्। यति बेला उनको मुटु कटक्क खान्थ्यो। कामप्रति उनको सम्पर्ण देखेर साउनीले उनको सिफारिसमै २० जना नेपाली चेलीलाई रोजगार उपलब्ध गराइदिएकी थिइन।
तारा करिब एक दशकअघि दुबई आउँदा उनको ३० हजार रुपैयाँ खर्च भएको थियो। तर, उनले यहाँ निःशुल्क महिलाहरूलाई जागिर खोजिदिएकी छिन्। ‘खाली साहुलाई मात्र दोष दिएर हुँदैन। आफूले पनि क्षमता देखाउनु पर्छ। एकपल्ट उनीहरूको मन पग्लियो भने छोरी जस्तै व्यवहार गर्छन्,’ वैदेशीक रोजगारीमा आएका नेपाली चेलीहरूलाई उनी यो सन्देश दिन चाहन्छिन्।
विदेशमा बसेर लामो समय काम गरेकी तारा अहिले नेपाल फर्किने सोचमा छिन्। उनी अब नेपालमै बसेर केही काम गर्न चाहन्छिन्। भन्छिन्, ‘मिहिनत गर्न छोड्नु हुँदैन। दिन सबैको आउँछ।’