संयुक्त राष्ट्रसंघको युरोपेली मुख्यालय जेनेभाको भाँचिएको कुर्ची रहेको छेउ आज दिनभर तनावग्रस्त रह्यो । नारावाजी गर्नेहरु उग्र हुँदै गएपछि स्विस पुलिसले अश्रुग्याँस छोड्यो र भीडलाई तितरबितर पार्न लाठीजार्च पनि गर्यो । पानीको फोहराले भीडलाई उग्र हुनबाट रोक्यो ।
चारैतिरबाट एकाएक बिहानको १० बजेतिर अफ्रिकी मुलुक क्यामरुनका नागरिकहरु संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि जम्मा हुन थालिसकेका थिए । उनीहरुले देशमा ३० वर्षदेखि शासन गरिरहेका राष्ट्रपति बाउल बियाले देशलाई प्रजातान्त्रिक बाटोतर्फ लैजानुपर्ने माग राख्दै प्रदर्शन गर्न थालिसकेका थिए ।
उनीहरुले 'तानाशाह बिया- कुर्सी छोड्' भनेर जसका बिरुद्ध नाराबाजी गरिरहेका थिए, राष्ट्रपति बिया भने प्रदर्शनस्थल छेवैको होटल कन्टिनेन्टलको बिलासी सुईटमा बसिरहेका थिए । आफ्नी सुन्दरी श्रीमती, दर्जनौँ अँगरक्षकसहित गएको ६ महिनादेखि स्विट्जरल्याण्डको जेनेभाको महँगो होटलमा उनी आरामले बसिरहेका छन् । उनको कोठाबाट फ्रेन्च हिमाल मो ब्लोँ देखिन्छ भने स्विमिँग पुललगायत सबै सुविधा उनलाई दिइएको छ । दिनको ३० हजार स्विस दाम पर्ने महँगो सुईटमा उनी आरामले बसिरहेका छन् । तीस हजार भनेको झण्डै पैँतिस लाख नेपाली रुपियाँ हो ।
दैनिक यत्रो खर्च गरेर यहाँ बसेका तानाशाह बियाले अकुत सम्पति जोडेका छन् । देश भने तन्नम छ । अनौठो त के भने उनले धेरै पटक यही होटलमा क्यामरुनको मन्त्रिमण्डलको बैठक गरेका छन् । गत महिना श्रम संगठनको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा सहभागी हुन जेनेभा आउँदा प्रधानमन्त्री केपी शर्मा ओली पनि यही होटलमा बसेका थिए । नेपाली र स्विस नागरिहरुसँग प्रधानमन्त्री ओलीले यही होटलमा भेटेका थिए ।
भीड यति उत्तेजित हुँदै राष्ट्रपति मूर्दावादको नारा लगाउँदै होटल कन्टिनेन्टलतिर अघि बढेपछि विशेष कमाण्डोले झाँगलझुँगल पार्दै लाठीले हान्दै भीडलाई हटायो । स्विस प्रवक्ताले आफ्नो देशमा कानूनी रुपमा बसिरहेको कुनै अतिथिलाई हामीले तिम्रो देशका जनताको बिरोध आयो भनेर जाउ भन्न नमिल्ने बताउँदै होटलमा बसिरहेका क्यामरुनी राष्ट्रपतिको सुरक्षा आफ्नो प्राथमिकता रहेको बताए ।