बेलायतका दुई राजकुमारबीच मनमुटाव : पत्नी लिएर लागे आ-आफ्नो बाटो

राजकुमारहरू लागे आआफ्नो बाटो ... संकेत राम्रो छैन है ! तस्बिर : एजेन्सी

बेलायतका दुई राजकुमारबीचको मनमुटाव अरू गहिरिएको जस्तो देखिएको छ । दुई राजकुमार र उनीहरुका पत्नी रहेको च्यारिटी संस्था रोयल फाउन्डेसनबाट राजकुमार ह्यारी र उनकी पत्नी मेगन बाहिरिएका छन् ।

राजकुमार विलियम र ह्यारी फाउन्डेसनका संस्थापक थिए । विवाह लगत्तै केट जोडिएकी थिइन् भने मेगन विवाहको केही पूर्व सामेल भइन् । अब यो संस्थामा राजकुमार विलियम र उनकी पत्नी केट मात्र रहने छन् ।

फाउन्डेसनको नाम पनि अब परिवर्तन गरेर द रोयल फाउन्डेशन अफ द ड्युक एण्ड डचेज अफ क्याम्ब्रिज राखिने बताइएको छ । 

उता संस्थाबाट अलगिएका राजकुमार ह्यारी र मेगनले यो वर्षको अन्त्यसम्ममा नयाँ संस्था बनाएर काम सुरू गर्ने अनुमान गरिएको छ । 

यो वर्षको सुरुमा राजकुमार ह्यारी र उनकी पत्नी मेगन केन्जिङटन प्यालेसबाट छुट्टिएर नयाँ घरमा गएका थिए ।

पछिल्लो समय राजकुमारी केट र मेगनबीच त बोलचाल नै बन्द भएको बताइएको छ भने दाजुभाइ बिलियम र ह्यारीको अवस्था पनि त्यस्तै भैसकेको बताइन्छ। 

प्रकाशित मिति: : 2019-06-21 10:53:26

प्रतिकृया दिनुहोस्