प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले बेलायतमा 'यो नेपाली शीर उचाली संसारमा लम्कन्छ बोल'को गीतमा सलामी लिएका छन् । उनलाई बेलायतको काम्बर्लीमा रहेको रोयल मिलिटरी एकेडेमीस्थित गोर्खा बिग्रेडको मुख्यालयमा गार्ड अफ अनर दिदा यही गीत बजाइयो । उनले पनि मज्जाले छड्के सलाम फर्काएर गार्ड अफ अनर लिए ।
प्रधानमन्त्री ओलीको स्वागतमा नेपालको राष्ट्रिय गानको धुन बजाएर स्वागत गरिएको थियो । तर, उनलाई गार्डअफ अनर भने 'यो नेपाली शीर उचाली संसारमा लम्कन्छ बोल'को गीतमा दिइयो ।
बेलायतलाई प्रोटोकलका बारेमा र गोर्खा बिग्रेडलाई नेपाली राष्ट्रगानका बारेमा जानकारी छैन भन्न मिल्दैन । तर, जानेर वा नजानेर बेलायतमा प्रधानमन्त्री शर्मा ओलीलाई सयौ थुंगा फूलका हामी एउटै माल ा नेपालीमा हैन, यो नेपाली शिर उचालीमा सलामी दिइयो । र, उनले पनि आनन्दले त्यसैमा सलामी थापिरहे ।
कुनै पनि देशको सरकार प्रमुख वा राष्ट्र प्रमुखले सम्बन्धित देशको राष्ट्रगानमा मात्र सलामी लिने गर्छन् । यो सामान्य प्रोटोकलको कुरा हो । तर, नेपालका प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले बेलायतमा 'यो नेपाली शीर उचाली संसारमा लम्कन्छ बोल'को गीतमा सलामी लिएर नयाँ चलन चलाएका छन् ।
यस बारेमा एक जना अगुवा नेपाली कूटनीतिज्ञले यस्तो पनि भयो र ? भन्दै आश्चय व्यक्त गरे। उनले अगाडि भने- यदि यसो भएको भए यो ठूलो गल्ती हो । सम्बन्धित पक्षले यस बारेमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ ।'