नेपालकी हुमी बुढा मगरले जितिन् जापानको अल्ट्रा म्याराथन दौड

बीएल

काठमाडौं । नेपालकी हुमी बुढा मगरले जापानमा आयोजित माउन्ट ताइसेत्सु ट्रेल जर्नीको उपाधि जितेकी छन्। ४० किमी लामो अल्ट्रा दौड प्रतियोगिता ५ घण्टा ३२ मिनेट २५ सेकेन्डमा पार गर्दै बुढा मगरले समग्रमा तेस्रो तथा महिलातर्फ उपाधि जितेकी हुन्।

प्रतियोगितामा सहभागी हुन उनले २४ नोभेम्बर २०१८ मा हङकङमा भएको ५० किमी एफटिजीआर सबमिटस् ट्रेल च्यालेन्ज प्रतियोगिताको विजेता भएकी थिइन्।

उक्त ग्रीन रेस हङ्कङ प्रतियोगितामा हुमी बुढामगरले ७ घण्टा ८ मिनेटमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जितेकी थिइन्।

प्रतियोगितामा सहभागी हुन बुढा एक दिन अगाडि मात्र जापान पुगेकी नेपाली अल्ट्रा धाविका मिरा राईले जानकारी दिइन्।

राईले आफूसँगै नयाँ बहिनीहरू पनि दौडप्रति आकर्षित भएको भन्दै उनीहरूको सफलताले आफू उत्साहित भएको बताइन्।

‘बहिनीहरूलाई हामी जहिलै सपोर्ट गर्छौ, उहाँको सफलतामा समग्र नेपाली चेलीहरूको उचाई बढेको छ,’ मिरा राई इनिसिएटिभकी प्रमुखसमेत रहेकी राईले भनिन्।

हालै रूकुम (पूर्व) - रोल्पामा सम्पन्न ५२ किमी गुरिल्ला अल्ट्रा म्याराथन ट्रेलको महिलातर्फकी विजेतासमेत रहेकी २० वर्षीय मगरले नेपालका अधिकांश अल्ट्रा म्याराथनमा सहभागी जनाइसकी छन्।

गुरिल्ला ट्रेल म्याराथनका संयोजक सुनिलकुमार रोकाले जापानमा नेपाली चेलीको सफलता अतुलनीय रहेको बताए।

बुबा दामोदर बुढामगरले छोरीलाई सानै उमेरदेखि आफूसँगै अभ्यास गराउने गर्थे। ‘छोरीलाई मैले नै तालिम दिएको हुँ, उसलाई मन नभए पनि मेरै करकापले आज जापानमा गएर उपाधि जित्न सफल भयो,’ म्याराथन धावकसमेत रहेका मगरले छोरीको सफलताबाट खुसी हुँदै  भने, ‘अवसर पाए हाम्रा छोरीहरूले पनि अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा आफूलाई अब्बल बनाउँछन्।’

प्युठान स्याउलीबाङकी मगरले जितेको यो म्याराथन उनको सबैभन्दा ठूलो सफलता हो।

यसअघि सातौ राष्ट्रिय खेलकुद, आठौं राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसिप र एसियन च्याम्पियनसिपको उपाधि जितिसकेकी छन्।

प्रकाशित मिति: : 2019-07-28 17:29:05

प्रतिकृया दिनुहोस्