ब्रिटिस सेनाका जागिरे बुवा हरिलाल पुन र आमा ईन्दिरा कालीलाई छोराछोरी यही बनोस् भन्ने केही थिएन। तर, शिक्षित होस् भन्ने उनीहरुको दृढ ईच्छा थियो।
यही दृढ इच्छाले छोरा शेर बहादुर शिक्षित मात्र भएनन् सादा जीवन उच्च विचार राख्ने ज्ञानी डाक्टर बनेर देखाए।
विदेशमै बस्ने व्यवस्था र निजी अस्पतालको उच्च सेवा, सुविधा र पैसा कमाउन छोडेर शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल रोजे।
बागलुङको पाण्डवखानीमा जन्मिएका डा. पुनले बेलायतबाट एमबिबिएस र जापान सरकारबाट छात्रवृत्ति पाई जापानकै पेडियाट्रिक विश्वविद्यालयबाट सन् २००४ मा सरूवा रोग विषयमा पिएचडी गरेका डाक्टर पुनले नेपालको शुक्रराज ट्रफिकल अस्पतालमा विगत १७ वर्ष देखि सरूवा रोगको उपचारमा दत्तचित्त भएर काम गरिरहेका छन्।
शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पतालमा शेर क्लिीनीकल रिसर्च युनिटका संयोजकसमेत हुन्। यो अस्पतालमा धेरै डाक्टर आउने जाने भइरहेको हुन्छ तर उनी यही अस्पतालमा बसेर बिभिन्न अनुसन्धान गरिरहेका हुन्छन्।
रूसबाट एमबिबिएस सकेर १९ वर्ष अघि नेपालमा इन्टर्नसिपका लागि टेकु अस्पतालमा आएका थिए।
शेरको सरूवा रोगप्रतिको लगाव देखेर जापानले उच्चस्तरको पोस्ट डक्टरेट विश्व चर्चित फेलोसिप दिएको थियो।
उनी टेकु अस्पतालकै बिरामीसँग भिजिसकेकाले पनि शेरले आफू छनोटमा परेर पनि उक्त फेलो अस्वीकार गरे।
‘नेपालमै बसेर केही गर्नुपर्छ र शुक्रराज ट्रपिकल तथा सरूवा रोग नियन्त्रण अस्पताललाई दक्षिण एसियाकै नमूना अस्पताल बनाउने मेरो सपनाले गर्दा मैले पाएजति सबै अवसर छोड्दै हिडेको हुँ,’ उनले भने।
जीवन संगिनी सुनिता पनि पेशाले महिला रोग विशेषज्ञ हुन्। उनको जीवन सामान्य छ। शेरलाई परिवारको धेरै सहयोग छ।
‘दृष्ढ इच्छा शक्ति, केही गरौं भन्ने सकारात्मक सोचले मलाई यो विषयमा दत्तचित्त भएर लागिरहन प्रेरित गर्छ, उनले भने,‘म प्रेरणादायी फिल्म, वृत्तचित्र र रिपोर्ट हेर्छु। यदि टिभीमा र युट्यूवमा नकारात्मक समाचार केही देखेँ कि चेन्ज गर्छु। यस्ता नकारात्मक समाचारले ऊर्जा घटाउँछ। म चाहन्छु मेरो सपनालाई केही कुराले नछेकोस्।’
साधारणा जीवन जिउने डाक्टर पुन केही समय अघिसम्म सार्वजनिक यातायातमा हिँड्ने गरेका थिए। तर उनको धपेडी धेरै भएकाले बुवाले गाडी किनिदिए।
‘मैले कमाउने पैसाले त मेरै खर्च पुग्दैन। मैले धेरै आरामदायी जीवन खोजेको पनि छैन’, उनी भन्छन्।
एमबिबिएस सकेर १९ वर्ष अघि पुन टेकु अस्पताल आउँदा जापानिज इन्सोफ्लाइटिस्, कालाजार, डेँगु र मलेरियाका धेरै बिरामी आउँथे। त्यसमध्ये अधिकांशको मृत्यु हुन्थ्यो। तराईमा उपचार हुँदैनथ्यो। बिरामीको दयालाग्दो अवस्था, घण्टा घण्टामा झाडापखालाका बिरामी भर्ना र डिस्चार्ज हुन्थे। बिरामी राख्ने ठाउँ थिएन।
यी र यस्ता घटनाको भुक्तभोगी भएपछि उनले सरूवा रोगको विषय पढेर उपचार र अनुसन्धानमा योगदान गर्ने निधो गरे।
बिहानदेखि टेकु अस्पतालमै हुने डा. पुन आफ्नो पालो नभए पनि बिरामीले सोध्दा मज्जाले सम्झाएर, बुझाएर पठाउँछन्।
कहिले काहिँ त बिरामीको चाप अनुसार साँझ परेको पनि उनलाई पत्तो हुन्न। शेरको खुसी बिरामीको हाँसोमा हुन्छ। निराश भएर अस्पताल आएका बिरामी उपचार पश्चात खुशी हुँदा सबै भन्दा सन्तुष्टि प्राप्त हुन्छ।
डाक्टर पुनको नजरमा विश्वमा सरूवा रोग आजभन्दा भोलि बलियो हुँदै गएको छ। आज डेँगु एउटा छ भने अर्को वर्ष त्यो भन्दा बलियो भाइरस बन्दै गएको छ।
‘प्रविधिमा जसरी विकास भइरहेको छ। सरूवा रोगका भाइरस पनि त्यसै गरी विकसित हुँदैछन्,’ उनले भने।
डाक्टर पुनले अनुसन्धान गरेका धेरै विषयमा छन् तीमध्ये एक चर्चित काण्ड हो- ‘हाइटीमा भएको हैजा र नेपाली सेनामाथि लगाइएको आरोप।’
त्यो अनुसन्धानले नेपालको गौरव उँचो राखेको थियो। उनको अनुसन्धान विश्वका चर्चित पुस्तकमा उल्लेख भएको थियो। शेरले नेपाललाई हैजा ल्याउने भन्ने देशको आरोपबाट बचाएका थिए।
नेपालमा चिकन गुनियाँ भाइरस छ, स्क्रवटाइफस र रायम रोग छ। जारको पानीबाट हैजा भन्ने कुराको पनि अनुसन्धान भइसकेको छ।
सरूवा रोगको उपचार्थ खटिएका डाक्टर नै सबैभन्दा पहिलो खतराको रेखामा हुन्छन्। सरूवा रोगका विशेषज्ञ पुनले रोगलाई इमर्जिङ र रि–इमर्जिङ दुई प्रकारले हेर्ने गरेका छन्।
इमर्जिङ भनेको अरूको देशमा देखिरहेको र नेपालमा पत्ता नलागेको हो। यस्ता रोगहरु बढ्दो क्रममा छन्।
जस्तैः लाइम डिजिज अमेरिका, यूरोपतिर डरलाग्दो रोगको रूपमा लिइन्छ। जुन एउटा किराले टोकेर हुने गर्छ।
लाइम डिजिज् नेपालमा लागेको पहिलो पटक उनैले पत्ता लगाएका हुन्।
त्यस्तै चिकन गुनिया भाइरस जसले डेंगु फैलाउने लामखुट्टे रोग सार्ने काम गर्छ। त्यस्ता धेरै रोगहरु नेपालमा इर्मजिङ भइरहेको छ। जुन अझै पनि हेर्न बाँकी छ।
शेरको एउटै सपना छ-सम्बन्धीत निकायले यसमा चासो पनि देखाउनुपर्छ। ‘अझै रोगका श्रोतहरु हामीसँग धेरै छन्। त्यसैले पनि टेकु अस्पताल दक्षिण एसियाकै अनुसन्धान हव बनोस्। जहाँ सिक्नका लागि जुनसुकै देशका विद्यार्थी आउन सकुन्। अनुसन्धानका लागि यो दक्षिण एशियाको प्राज्ञिक होस्’, उनले भने।
यसअघि बिएल नेपाली सेवाले डा. पुनको विषयमा गरेको यो स्टोरी पुनः प्रकाशन गरिएको हो- सम्पादक