मजदुर दिवस र प्रवासी नेपाली

विश्व मजदुर दिवस जसलाई नेपालमा अन्तर्राष्ट्रिय श्रमिक दिवस भन्ने प्रचलन छ- विश्वका श्रमिकहरूको महान पर्व हो। यो दिवश विश्वका ८० भन्दा बढी राष्ट्रमा हरेक वर्ष मे १ मा  मनाइन्छ। अधिकांश राष्ट्रमा सार्वजनिक विदा नै दिएर महत्वका साथ मनाइन्छ भने कतिपय राष्ट्रमा सामान्य रूपमा मनाउने चलन छ। केही राष्ट्रमा यस दिनलाई बसन्त ऋतुको पर्वका रूपमा पनि मनाइन्छ। 

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइए पनि सार्वजनिक विदा दिएर आधिकारिक रूपमा मनाउन थालिएको भने ०६४ सालबाट मात्रै हो। नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागिएको हो। दु:खका साथ भन्नुपर्छ, विश्वव्यापि रुपमा स्थापित मजदुर दिवस नेपालमा भने औपचारिकतामा सिमीत हुदैगएको छ।

प्रवासमा रहेका श्रमजीवी नेपालीले पनि विभिन्न कार्यक्रमको आयोजना गरी मे दिवस मनाउने गर्छन्। खासगरी ठुलो संख्यामा नेपाली मजदुर रहेको मुम्बई, दिल्लीलगायतका सहरमा बिभिन्न कार्यक्रम आयोजना हुन्छन्। कार्यक्रमलाई श्रमिक वर्गको एकता, वीरता र संघर्षको प्रतीकका रूपमा लिने गरिन्छ।आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि बिगतमा, मजदुरहरुले गरेको संघर्षको स्मरण गरिन्छ।

नेपालका हरेक परिवर्तनमा मजदुरको उतिकै भुमिका देखिन्छ।आन्दोलन गर्दा मजदुरको सहभागिता गराउने र आन्दोलनपश्चात मजदुरका मागप्रति कुनै पनि राजनीतिक शक्ति गम्भीर भएको देखिदैन।राज्य मात्र होईन, राजनीतिक दलका सहायक संगठनका रुपमा स्थापित मजदुर संगठन पनि नेतृत्वमूखी हुँदा श्रमिक संगठितसम्म हुन पाएका छैनन्।

नेपालका हरेक परिवर्तनका सारथी मजदुरहरुको सम्मानजनक सामाजिक, आर्थिक जीवनका लागि राज्यसँगै मजदुरका पक्षमा कार्यरत सवैले जिम्मेवारीबोध गर्न आवश्यक छ।

प्रवासी मजदुरको सन्दर्भमा समेत राज्य, पार्टी निकट प्रवासी संगठन र कामगार संगठनहरुले पनि बेलैमा उचित काम गर्न आबश्यक देखिन्छ। राजनीतिक परिवर्तन भएपनि मजदुरको अबस्था अहिले पनि उस्तै छ।मे दिवसमा सार्वजनिक बिदा दिदैमा मजदुरको सम्मान हुदैन। वास्तवित मजदुर अहिले पनि श्रम गरिहरेका छन्।

प्रवासमा समेत मजदुरको अबस्था सन्तोषजनक देखिदैन।यतापनि श्रमिकले काम गर्ने ठाउँमा ठगिनु परेको, पारिश्रमिक नपाएकाजस्ता धेरै घटना छन्। प्रवासी नेपालीको हक र अधिकारका लागि बनेका मजदुर संगठनको यसप्रति खासै चासो अनुभव गर्न सकिएको छैन। भारत प्रवासका नेपाली कामदारका लागि यी सामाजिक संघ, संगठनले परिवतिर्त समयमा समयसापेक्षित नौला कार्यक्रम ल्याउन जरुरी देखिन्छ। मे दिवसमा केही हलमा र केही श्रमिक श्रममै हुने अबस्था आयो भने साँचो मानेमा मे दिवश मनाएको भन्न सकिन्न। 

देश, बिदेशसंगै महाराष्ट्रका प्रवासी नेपालीमा मजदुर दिवस अर्थात् मे दिवसको शुभकामना ।

प्रकाशित मिति: : 2019-05-01 09:20:57

प्रतिकृया दिनुहोस्