प्रधानमन्त्री ओली उखान-टुक्काका धनी छन्।त्यसाे त उनी रूख्खो बाेलीमा पनि त्यतिकै धनी छन्। हुन त कुनैबेला माओवादी र प्रचण्डप्रति निकै आलाेचक ओली पछिल्लो समय उनैसँग गला गाँसेर हिडेका छन्। अहिले ओली काँग्रेसप्रति निकै आक्रामक छन्।कांग्रेसलाई विचरा कहाँ पुग्याे भनिरहेका छन्। उनले देउबा नै नेपाली कांग्रसकाे अन्तिम प्रधानमन्त्रीसम्म पनि भन्न भ्याए।कहिलेकाँही त कांग्रेसलाई लक्षित गरेर यति तुच्छ विशेषण प्रयाेग गर्छन् कि त्यो उनको पदीय गरिमालाई रत्तिभर सुहाउने हुदैन।
ओली आफ्नाे राजनीतिक यात्राका समकक्षी, विरोधी दल र नेतासँगकाे सम्बन्धका आधारमा भाषा र प्रस्तुति तय गर्न नामुद छन्।भनाइ नै छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुदैन। यस अर्थमा उनको बाेलीलाई स्वभाविक पनि मानिएला।तर, ओलीजस्ताे देशकाे ठुलाे नेता र प्रधानमन्त्रीकाे ओहाेदामा बसेकाे मान्छेले कतिसम्म बाेल्ने भन्ने कुरा उनी आफैंले हेक्का राख्नुपर्छ।हुन त यस्तो समस्या ओलीमा मात्र हैन, धेरथोर सबैमै छ।यसपटक भने ओलीकाे बाेलीमै केन्द्रीत बनाैं।
नेताकाे एउटा बाेलीले देशमा फरक सन्देश जान्छ। उसकाे एक शब्दले दुरगामी असर गर्छ।नेता फिल्मकाे हिराेजस्ताे पर्दामा देखिने तर पर्दा पछाडिकाे निर्देशककाे इसारामा चल्ने 'रिल'को पात्र हैन।नेता त वास्तविकतामा देश, जनता र समयलाई नेतृत्व गर्ने 'रियल' पात्र हो, उसले चलचित्रमा जस्तो अरूले लेखिदिएको सम्वाद हैन, आफ्नो विवेकको बोली बोल्नुपर्छ। उसका सल्लाहकारले केही काम गरेपनि ऊ नै निर्णायक हुन्छ।निर्णय प्रक्रियामा ऊ नै मुख्य मानिन्छ।त्यसैले उसकाे बाेली महत्त्वपूर्ण हुन्छ।पछिल्लो समय प्रम ओलीकाे बाेली र शब्दकाे ओझ घट्दै गएकाे छ।
भारतीय नाकाबन्दीकाे बेला देशभक्तिकाे एउटै डाइलगले ओली राष्ट्रकाे हिराे हुन सकेका थिए।तर, आज सयाैं बाेलीले उनी गलत सावित हुँदै गएका छन्।यस्ताे लाग्छ ओली कुनै ठाउँ हिँडे भने त्यहाँका जनतासँगकाे सामिप्यता बढाउन हाेइन, दूरी बनाउन हिडेका हुन्।जनता खुशी बनाउन, देश विकास र देश भक्तिकाे भावना उचाे बनाउन हाेइन, नागरिकका ससाना टिप्पणीकाे जवाफ फर्काउन हिडेका हुन्।
मार्सी चामलकाे मामलामा हाेस या ज्याेतिषकाे बाेलीको विषयमा, उनी जवाफ फर्काउन हाजिर छन्।संयाेग नै मान्नुपर्छ, उनका अर्का अध्यक्षले भैंसीपूजा गरे, उनी आदित्यकाे ज्याेतिषपथलाई वैधानिकता दिने काममा अहोरात्र खटेका छन्। उनकाे व्यक्तित्व, पदीय मर्यादा र जिम्मेवारीअनुसार कति कुरा बाेल्नु हुन्छ वा हुन्न, त्याे उनी र उनका सल्लाहकारले बुझेका छैनन् भन्न सकिन्न, बुझ्न नचाहेका हुन सक्छन्, त्यो उनीहरूकै कुरा हो।
मञ्चमा हुँदा ओली पेट मिचिमिची हाँस्ने गरी उखान टुक्का जाेड्छन्।जवाफ दिन्छन्।गफ चुट्छन्। यस्ताे लाग्छ मञ्चमा ओली होइन, चार्ली चाप्लिन छन्। केही दिनअघि युक्रेनमा हाँस्य कलाकार भाेलाेदिमर जेलेन्स्कि राष्ट्रपति निर्वाचित भए। उनी राष्ट्रपति भएयता हँसाउदैनन्, बरु गम्भीर हुँदै भन्छन् 'युक्रेनी जनताकाे भवनामा कहिले पनि कुठाराघात गर्ने छैन।' तर ओलीले प्रधानमन्त्री भएपछि गम्भीर हुन नै बिर्से, हँसाउदै हिड्नुपर्ने ठानें।
वर्तमान नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीकाे शासकीय शैलीप्रति जनता आक्राेशित छन्।उनकाे विलासिता राजा-महाराजाभन्दा कुनैपनि काेणबाट कम छैन। देशमा श्री ५ काे शासन सकिएर श्री ६ काे शासनमा राष्ट्रपतिको अवतार भएकाे आमजनतामा अनुभूति हुन थालेकाे छ। त्यसैले आम नागरिक मूलधारका मिडिया र सामाजिक सञ्जालमा आक्रोश पोख्छन्।
तर, यो कुरा ओलीलाई हजम हुदैन। उनी राष्ट्रपतिको बिलासिताको वचाउ गर्दै फर्मान जारी गर्छन् 'राष्ट्रपति संस्थाको विरोध गर्नु भनेको राजतन्त्रको गुलामी गर्नु हाे।' ११ गते राति नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा उनले 'आफूलाई पढेलेखेका हौं भन्नेहरुले नै अहिले ठुटामा बसेर काग कराएजस्तो राष्ट्रपति संस्थाका विरुद्ध कराएको करायै गरेको' भनी जवाफ दिन भ्याए।
यतिमात्र हाेइन ओलीले राष्ट्रपतिको विराेध गर्नेलाई राजतन्त्रका 'गुलाम' भनेर ट्याग लगाइदिए। शासकका कर्तुतकाे विराेध गर्नेवित्तिकै विराेधीकाे कित्तामा राख्ने चलन ओलीराजमा सबभन्दा बढी भएकाे छ।डा. गाेविन्द के.सी.को आन्दाेलनकाे बेला पनि उनका कार्यकर्ताले त्यही गरेकाे थिए।
राजाकाे शासन र विलासिताकाे विरुद्धमा बाेल्ने जाे काेही ठीक थिए।ओलीलाई पनि अच्छा लाग्थ्याे। तर, आज फालिएका राजाभन्दा पनि राष्ट्रपति बढी खर्चालु र साैखिन हुने थालिन्। त्यसको विरोध गर्ने जनतालाई तिनै ओली 'गुलाम'काे ट्याग लगाई दिदैछन्।के यो न्यायोचित हाे ? गणतन्त्र केका लागि थियाे ?जनताले राजा किन फाले ? यी प्रश्नका बारेमा ओली जानकार छैनन् भनेर पत्याउँन कोही तयार छैनन्। तैपनि ओली किन यसरी फर्मान जारी गरिरहेका छन्। नेपाली जनताले बुझ्न नसकेको पाटो यो हो।
यी सबै प्रश्नकाे जवाफ दिने काम ओलीको हैन र उनले दिइरहनु पनि पर्दैन।सत्तालाई प्रश्न गर्ने जमात भएन भने सत्ताले गति लिन सक्दैन। शासकहरु निरंकुश बन्दै जान्छन्। प्रश्न गर्नेहरुले प्रतिपक्षकाे भूमिका निर्वाह गरिरहेका हुन्छन्।प्रतिपक्ष बलियाे नभई प्रजातन्त्र बलियाे हुँदैन।ओलीले यी प्रश्नको स्वागत गर्नुपर्ने हाे।यसरी कमजोरी औैल्याइ दिनेलाई स्याबासी दिनुपर्ने हाे तर ओली 'गुलाम'काे ट्याग झुण्याएर विराेधी करार गरिरहेका छन्। कम्युनिष्ट हुँ भनेर हसिया हथौडाको बलमा शासन गर्ने ओलीका लागि यो कर्म प्रिय होला तर आम जनताका लागि भने यो एक भद्दा मजाकबाहेक केही हैन।
जनताले मसिना कुराहरु केलाइ दिन्छन्।जनताका सानासाना असन्तुष्टिकाे जवाफ नदिएर असन्तुष्टि कम गर्नेतिर लाग्नु ओलीकाे लागि हितकर हुनेछ। नेपाली जनताकाे सहनशीलता र धैर्यताकाे कदर गरेकै राम्राे हुन्छ।जतनाकाे शक्तिलाई सत्तामा पुगेपछि हल्का रुपमा आँकलन नगर्नु नै उचित हुन्छ।माओत्सेतुङ्गले त्यत्तिकै भनेका हाेइनन् 'जनताकाे आँखा दुरवीन सरह हुन्छ' भनेर।तर, तिनै माओका अनुयायी हुँ भन्ने यी ओलीले खै कुरा बुझेका ? लाखटक्काको प्रश्न चाँहि यही भएको छ।